
काठमाडौं । नेपाली काग्रेसको विधान मस्यौदा समितिमा बिभिन्न तहबाट आएका सुझाव प्रतिवेदन बुझाईएको छ । काग्रेस पार्टी कार्यालय सानेपामा बुधबार बसेको मस्यौदा समितिमा सुझाव संकलनका आएका धारणाहरुको प्रतिवेदन बुझाईएको हो ।
प्रदेशस्तरीय छलफलपछि आएको सुझावलाई समेट्दै पार्टीको विधान मस्यौदालाई अन्तिम रुप दिन बिहीबारबाट छलफल थालीने काग्रेस नेता प्रदिप पौडेलले जानकारी दिए ।
सुझाव संकलनका क्रममा पार्टी सभापतिलाई अधिकार सम्पन्न बनाउने बा स्थानीय तह देखिनै सामुहिक नेतृत्व प्रणाली विकास गर्ने भन्ने मुख्य दुई विषय उठेको छ । संस्थापन पक्षले सभापतिलाई अधिकार सम्पन्न बनाउने गरि प्रत्यक्ष निर्वाचित प्रणालीमा लविङ गरेको छ भने संस्थापन इतरले सभापतिलाई वढी अधिकार दिँदा निरङकुशता हावी हुने बताएको छ।
पार्टीको आगामी संरचना कस्तो हुने भन्ने सम्वन्धमा प्रादेशिक तहको छलफलबाट आएको सुझाव सहित आजबाट छलफल हुने मस्यौदा समितिका सदस्य समेत रहनुभएका पौडेलले जानकारी दिए ।
महासमिति वैठक अघी विधान संशोधनको तयारी गरेको नेपाली कांग्रेसले त्यसको प्रारम्भिक मस्यौदाबारे प्रादेशिक तहमा छलफल गरेको थियो ।विधानको प्रारम्मिक मस्यौदामा ८ तहको संरचना निर्माण हुने उल्लेख छ । यस्तै केन्द्रीय समितिको आकार पनि १ सय ३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।
विधानमा महिला संख्या ३३ प्रतिशत अनिवार्य हुनुपर्ने उल्लेख छ । प्रादेशिक तहबाट आएको सुझावलाई विधानलाई आगामी २५ गतेभित्र टुङ्गयाईने र दशैं तिहारको बीचमा बस्ने केन्द्रीय समिति वैठकमा पेश गर्ने तयारी भएको विधान मस्यौदा समिति सदस्य पौडेलले जानकारी दिए ।