सोमवार, २०८३ मंसिर ७
EN
मेनु

दानबहादुर कार्कीको रिटमा सुनुवाइ रोकियो, सर्वोच्चको आदेश– अर्को पेसी पहिलो नम्बरमा

प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो

दानबहादुर कार्कीको रिटमा सुनुवाइ रोकियो, सर्वोच्चको आदेश– अर्को पेसी पहिलो नम्बरमा

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो।
  • अर्को पेसी पहिलो नम्बरमा राख्न आदेश।

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई अदालतको म्याद तामेल हुन नसकेपछि दुवै पक्षबीच हुने भनिएको बहस अघि बढ्न नसकेको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेसी तोकिएको थियो। तर केसीलाई विपक्षीका रूपमा अदालतको म्याद बुझाउने प्रक्रिया पूरा नभएकाले सुनुवाइ रोकिएको हो।

प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो

यसअघि सर्वोच्च अदालतका कर्मचारी आफैँ प्रहरी महानिरीक्षक केसीलाई म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुगेका थिए। तर म्यादमा उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उल्लेख भएको भन्दै प्रहरी प्रधान कार्यालयले बुझ्न अस्वीकार गरेको थियो।

त्यसपछि निवेदनमा आवश्यक संशोधन गरी केसीलाई प्रहरी महानिरीक्षकका रूपमा उल्लेख गरिएको थियो। संशोधन प्रक्रिया पूरा भए पनि म्याद तामेलीको काम नसकिएका कारण सोमबारको सुनुवाइ प्रभावित भएको हो।

इजलासमा केसी उपस्थित नभएको विषयमा न्यायाधीशहरूले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग समेत जानकारी मागेका थिए। केसी पक्षका कानुन व्यवसायीले पनि आफूहरूले म्याद प्राप्त नगरेको बताएका थिए। 

अर्को पेसी पहिलो नम्बरमा राख्न आदेश

सुनुवाइ अघि बढ्न नसकेपछि इजलासले प्रहरी महानिरीक्षक केसीलाई अर्को सुनुवाइमा उपस्थित गराउने व्यवस्था मिलाउन महान्यायाधिवक्तालाई निर्देशन दिएको छ।

साथै, कार्कीले दायर गरेको रिटलाई अर्को पेसीमा पहिलो नम्बरमै राखेर सुनुवाइ गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको छ। यद्यपि अर्को सुनुवाइको निश्चित मिति भने सार्वजनिक गरिएको छैन।

कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग १५ दिनभित्र जवाफ माग

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

अदालतले सरकारलाई कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो। मुद्दाको प्रकृति र संवेदनशीलतालाई ध्यानमा राख्दै अग्राधिकारसमेत प्रदान गरिएको थियो।

अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। सो छलफलमा मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयको प्रमाणित प्रतिलिपिसहित आवश्यक कागजात पेस गर्नसमेत भनिएको थियो। 

के हो कार्कीको माग?

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूलाई कुनै स्पष्टीकरण सोध्ने वा सुनुवाइको अवसर नदिई पदबाट हटाइएको भन्दै उनले सरकारको निर्णय बदर गरी पुनः प्रहरी महानिरीक्षकमा बहाल गर्न माग गरेका छन्।

उनले नयाँ नियुक्त आईजीपी मनोजकुमार केसीलाई काम गर्न रोक लगाउने अन्तरिम आदेशसमेत माग गरेका छन्।

सरकारले भने अदालतमा बुझाउनुपर्ने लिखित जवाफमार्फत आफ्नो निर्णयको कानुनी आधार प्रस्तुत गर्नुपर्नेछ।

सोमबारको सुनुवाइ स्थगित भएपछि कार्कीको पुनर्बहालीसम्बन्धी माग र केसीको नियुक्तिको वैधानिकताबारे तत्काल कुनै नयाँ आदेश आएको छैन। अब अर्को पेसीमा दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले अन्तरिम आदेशबारे निर्णय गर्नेछ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ