मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि

तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • �एक देश, अनेक कथा’ भन्ने नारासहित आयोजित महोत्सवमा नेपाली समुदायका साथै अस्ट्रेलियाका विभिन्न समुदायका मानिसहरूको सहभागिता रहेको थियो।
  • महोत्सवमा नेपाली खानाका परिकार, हस्तकला तथा सांस्कृतिक सामग्रीका प्रदर्शनी कक्षसमेत राखिएका थिए।
  • तास्मानियामा नेपाली समुदायको बढ्दो उपस्थिति र नेपाली संस्कृति तथा खानाप्रति अन्य समुदायको चासोले महोत्सवको लोकप्रियता पनि बढ्दै गएको छ।

होबार्ट । अस्ट्रेलियाको तास्मानिया राज्यको राजधानी होबार्टमा नेपाली कला, संस्कृति, संगीत र परम्पराको उत्सवका रूपमा तेस्रो संस्करणको नेपाल महोत्सव २०२६ भव्य रूपमा आयोजना गरिएको छ।

नोभेम्बर १४ शनिबार होबार्टस्थित संसद् भवन परिसर, सालामान्कामा आयोजित महोत्सवमा तास्मानियाकी गभर्नर महामहिम क्यारोलिन वेल्स प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

‘एक देश, अनेक कथा’ भन्ने नारासहित आयोजित महोत्सवमा नेपाली समुदायका साथै अस्ट्रेलियाका विभिन्न समुदायका मानिसहरूको सहभागिता रहेको थियो।

महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालबाट आएका चर्चित कलाकार अनिल सिंह, प्रकाश सपूत र रचना रिमालले सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूका गीतमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। नेपाली गीतसंगीतको माध्यमबाट नेपाल र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अवसरसमेत मिलेको थियो।

त्यसैगरी, तास्मानियामा रहेका स्थानीय नेपाली कलाकार तथा विभिन्न सांस्कृतिक समूहले पनि गीत, संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। नेपालका विभिन्न जातजाति र समुदायका मौलिक नृत्य, भेषभूषा र सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाएको थियो।

महोत्सवअघि दिउँसो १२ बजे म्याक्वेरी पोइन्टबाट सुरु भएको सांस्कृतिक झाँकी तथा परेड संसद् भवन परिसर पुगेर समापन भएको थियो। नेपाली मौलिक पोसाक, विभिन्न जातीय तथा सांस्कृतिक पहिचान झल्काउने झाँकी र नेपालको राष्ट्रिय झण्डासहित विभिन्न समुदायका मानिसहरू परेडमा सहभागी भएका थिए।

महोत्सवमा नेपाली खानाका परिकार, हस्तकला तथा सांस्कृतिक सामग्रीका प्रदर्शनी कक्षसमेत राखिएका थिए। नेपाली परिकारको स्वाद लिँदै विभिन्न समुदायका मानिसहरूले नेपालको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी लिने अवसर पाएका थिए।

गैरआवासीय नेपाली संघ तास्मानियाको आयोजनामा भएको महोत्सव नेपाली समुदायको पहिचान, एकता र सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको छ।

आयोजकका अनुसार गत वर्षको नेपाल महोत्सवमा करिब दश हजार मानिस सहभागी भएका थिए। तास्मानियामा नेपाली समुदायको बढ्दो उपस्थिति र नेपाली संस्कृति तथा खानाप्रति अन्य समुदायको चासोले महोत्सवको लोकप्रियता पनि बढ्दै गएको छ।

नेपाल महोत्सव नेपाली समुदायको सांस्कृतिक जमघटमा मात्र सीमित नभई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालको कला, संगीत, परम्परा र पहिचान चिनाउने महत्वपूर्ण माध्यम बनेको छ। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृति हस्तान्तरण गर्न तथा विभिन्न समुदायबीच आपसी सद्भाव र सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ