प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि परराष्ट्र मन्त्रालयले भ्रमणका उपलब्धि भन्दै १३ बुँदामा विवरण सार्वजनिक गरेको छ। हवाई मार्गदेखि रेलमार्गसम्म, बन्दरगाहदेखि पेट्रोलियम पाइपलाइनसम्म, ऊर्जा, शिक्षा, खेलकुद र पूर्वाधारसम्मका क्षेत्रमा भएका सहमति तथा समझदारीलाई सरकारले ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
भारतसँग भएका सहमति र समझदारीलाई सकारात्मक रूपमा लिनुपर्छ। दुई देशबीचको सम्बन्ध सुधार्नु, व्यापार तथा पारवहन सहज बनाउनु, ऊर्जा व्यापार विस्तार गर्नु र पुराना सन्धि पुनरावलोकनको बाटो खोल्नु निश्चय नै महत्त्वपूर्ण विषय हुन्।
तर एउटा प्रश्न छ– उपलब्धिको सूची सार्वजनिक गर्नु एउटा कुरा हो, त्यसको कार्यान्वयन गर्नु अर्को कुरा।
सरकारले सम्झौता र सहमतिको घोषणा गर्दै गर्दा ती कार्यान्वयन गर्न आवश्यक तयारी, परियोजना छनोट, लगानीको सुनिश्चितता, प्राविधिक अध्ययन र समयसीमाबारे पनि स्पष्ट जानकारी दिनुपर्छ। किनकि विगतमा पनि भारतसँग यस्ता अनेकौँ सहमति भएका छन्। सहयोगका घोषणा भएका छन्, ठूला परियोजनाको प्रतिबद्धता व्यक्त भएका छन्। तर तीमध्ये कति सम्पन्न भए ? कति निर्माणाधीन छन् ? कति वर्षौंदेखि अलपत्र छन् ? कति सहयोग उपयोग नै हुन सकेको छैन ?
सन् २०१५ को भूकम्पपछि भारतले घोषणा गरेको एक अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण सहयोगलाई नै हेरौँ। अनुदानको रकम खर्च भए पनि सहुलियतपूर्ण ऋणको ठूलो हिस्सा उपयोग हुन सकेन। भारतीय सहयोगमा पुनर्निर्माण गर्ने सूचीमा परेको अमृत साइन्स क्याम्पसको भवनसमेत अहिलेसम्म निर्माण हुन नसकेको विषय सार्वजनिक भएको छ। ऋण उपयोगका सर्त र प्रक्रियागत जटिलताले पुनर्निर्माण प्रभावित भएको देखिन्छ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कथा पनि उस्तै छ। सन् २०१४ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुङ्ग्याउने प्रतिबद्धता गरिएको थियो। त्यसपछि २०१७ र २०२३ मा पनि समयसीमासहितका सहमति भए। तर दशकभन्दा बढी समय बितिसक्दा पनि आयोजना निर्माणको चरणमा पुग्न सकेको छैन। अहिले फेरि आयोजना अघि बढाउने सहमति भएको छ, तर ठोस समयसीमा र विवाद समाधानको सुनिश्चितता देखिएको छैन।
त्यसो भए अहिले घोषणा गरिएका परियोजनाको भविष्य के हो ? पुराना सहमति कार्यान्वयन हुन नसक्नुका कारण के थिए ? विगतका कमजोरीबाट सरकारले के सिक्यो ? नयाँ सम्झौता कार्यान्वयन गर्न के-कस्ता तयारी भएका छन् ?
२ खर्ब ४० अर्बको सहयोग प्याकेज : घोषणा मात्रै कि कार्यान्वयनको तयारी पनि ?
भारतले नेपाललाई घोषणा गरेको नयाँ २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई सरकारले ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। यसमध्ये करिब ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋण सुविधा हो।
तर यो रकम एकैपटक प्राप्त हुने वा तत्काल खर्च गर्न सकिने होइन। परियोजनाको आवश्यकता, छनोट र प्रगतिका आधारमा ऋण सुविधा उपयोग हुने व्यवस्था छ।
त्यसो भए कुन-कुन परियोजनामा यो रकम खर्च गर्ने ? परियोजना छनोट कहिले हुन्छ ? ऋणका सर्त, ब्याजदर, भुक्तानी अवधि र खरिद प्रक्रियाबारे के निर्णय भएको छ ? परियोजना कार्यान्वयनको जिम्मेवारी कसले लिन्छ ? काम सुरु हुने समयसीमा के हो ?
सरकारले यी प्रश्नको जवाफ दिनुपर्दैन ?
सहयोगको रकम कति ठूलो छ भन्नेभन्दा पनि त्यसबाट देशले कति लाभ लिन्छ भन्ने महत्त्वपूर्ण हो। विगतमा उपयोग गर्न नसकिएको ऋण र अलपत्र परेका परियोजनाबाट सरकारले पाठ सिकेको छ कि छैन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
विदेश भ्रमणका उपलब्धिसँगै आफ्नै देशका समस्याको जवाफ पनि चाहिन्छ
सरकारले भारत भ्रमणका उपलब्धिहरू सार्वजनिक गरिरहँदा देशभित्रका नागरिकले भोगिरहेका समस्याको जवाफ पनि दिनुपर्छ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएका नागरिक र उनीहरूका परिवारले न्याय, राहत र पुनर्स्थापनाको अनुभूति कहिले गर्ने ? आन्दोलनका घटनामा दोषी देखिएकामाथिको कारबाही कहाँ पुग्यो ? पीडित परिवारको जीवनयापन र भविष्यको जिम्मेवारी सरकारले कसरी लिन्छ ?
भोटेकोशी बाढीले तहसनहस बनाएका बस्ती, सडक, पुल र प्रभावित नागरिकको पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अपेक्षित गतिमा अघि बढेको छ कि छैन ? विपद्मा परेका नागरिकको घरपरिवार र जीविकोपार्जन पुनःस्थापित गर्न सरकारले के गरिरहेको छ ?
विदेशी लगानी भित्र्याउने, प्रवासी नेपालीको पुँजीलाई स्वदेशको उत्पादन र रोजगारीसँग जोड्ने, निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने ठोस काम के भए ?
मधेसका नागरिकले उठाउँदै आएका संविधान संशोधन, प्रतिनिधित्व र अन्य राजनीतिक मुद्दामा सरकारको धारणा के हो ? राष्ट्रिय राजनीतिको केन्द्रमा मधेसलाई राख्ने प्रतिबद्धता कहाँ पुग्यो ?
युवालाई देशमै रोजगारी दिने, उद्योगधन्दा सञ्चालन गर्ने, उत्पादन बढाउने, निर्यात प्रवर्द्धन गर्ने र व्यापार घाटा घटाउने काममा सरकारको ठोस प्रगति के छ ?
बजेटमा प्राथमिकता पाउनुपर्ने यी विषयले पर्याप्त स्थान पाए कि पाएनन् ? जनताले अपेक्षा गरेको परिवर्तन र सरकारले प्रचार गरिरहेको परिवर्तनबीचको दूरी किन बढिरहेको छ ?
फेसबुकमा देखिने सरकार र जनताको जीवनमा देखिने सरकार फरक कुरा हुन्
सरकारले बुझ्नुपर्ने कुरा के हो भने देश चलाउनु भनेको फोटो खिचाउनु, भिडियो बनाउन लगाउनु, सम्झौताका दस्तावेज सार्वजनिक गर्नु र सामाजिक सञ्जालमा आफ्नो प्रशंसा गर्नु मात्रै होइन।
अहिले सरकारको प्रचार संयन्त्र निकै सक्रिय देखिन्छ। सरकारका हरेक गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक हुन्छन्। उपलब्धिका सूची आउँछन्, प्रचार सामग्री तयार हुन्छन् र सरकारका कामको प्रशंसा गरिन्छ।
तर नागरिकले खोजिरहेका परिणामको गति पनि त्यही अनुपातमा देखिनुपर्दैन र ?
फेसबुकमा सरकार देखिनु र नागरिकको जीवनमा सरकार देखिनु दुई फरक कुरा हुन्। सामाजिक सञ्जालमा सरकारको उपस्थिति बाक्लो हुँदैमा देशमा विकासको गति बढेको प्रमाणित हुँदैन।
नागरिकले सामाजिक सञ्जालमा सरकारको उपस्थिति होइन, आफ्नो जीवनमा आएको परिवर्तन खोजिरहेका छन्। बेरोजगार युवाले रोजगारी खोजिरहेका छन्। किसानले बजार र उचित मूल्य खोजिरहेका छन्। व्यवसायीले लगानीको वातावरण खोजिरहेका छन्। विपद्मा परेका नागरिकले पुनर्स्थापना खोजिरहेका छन्। आन्दोलनका पीडित परिवारले न्याय खोजिरहेका छन्।
सरकारको सफलता प्रचारको पहुँचले होइन, नागरिकको जीवनमा आएको परिवर्तनले मापन हुनुपर्छ।
प्रधानमन्त्रीज्यू, अब उपलब्धिसँगै जवाफदेहिताको सूची पनि सार्वजनिक गर्नुस्।
भारत भ्रमणका उपलब्धि १३ बुँदामा सार्वजनिक गर्नुभयो। अब विगतका सहमति र सहयोगको कार्यान्वयन अवस्था पनि सार्वजनिक गर्नुस्। अहिले गरिएका नयाँ घोषणाको स्पष्ट कार्ययोजना ल्याउनुस्।
कुन परियोजना कहिले सुरु हुन्छ ? कहिले सम्पन्न हुन्छ ? कुन निकायले जिम्मेवारी लिन्छ ? कति बजेट खर्च हुन्छ ? कार्यान्वयनमा समस्या आए कसले जवाफ दिन्छ ? यी सबै विषय नागरिकले जान्न पाउनुपर्छ।
देशलाई सम्झौताको सूची होइन, कार्यान्वयनको समयतालिका चाहिएको छ। घोषणाको प्रचार होइन, परिणामको हिसाब चाहिएको छ। फेसबुकमा देखिने सरकार होइन, जनताको जीवनमा देखिने सरकार चाहिएको छ।
उपलब्धिको सूची लामो हुँदैमा सरकार सफल हुँदैन। ती उपलब्धिले नागरिकको जीवनमा कति परिवर्तन ल्याए भन्ने कुराले सरकारको सफलता निर्धारण गर्छ।
घोषणा र प्रचारको उत्सव धेरै भयो, अब परिणामको हिसाब दिने बेला भएन र ?