अस्ट्रिया — भियनास्थित नेपाली दूतावासबाट सेवा लिन जाने नेपाली नागरिकले विभिन्न प्रशासनिक झन्झट, असहयोग र असहज परिस्थितिको सामना गर्नुपरेको भन्दै दूतावासको कार्यशैलीमाथि प्रश्न उठाइएको छ।
नेपाली समुदायका व्यक्ति विनोद चौलागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै दूतावासबाट सेवाग्राहीले भोग्नुपरेका कठिनाइबारे गम्भीर गुनासो गरेका हुन्। उनले दूतावासको सेवा प्रवाह सहज, पारदर्शी र सेवाग्राहीमैत्री हुनुपर्ने मागसमेत गरेका छन्।
चौलागाईंका अनुसार, केही दिनअघि एनआरएनएका साथीहरूले गरेको अनुरोधअनुसार उनी आफ्नो नाममा मञ्जुरीनामा लिएर दूतावासबाट एउटा पत्र बुझिलिन भियनास्थित नेपाली दूतावास पुगेका थिए। तर, दूतावासका कर्मचारी अच्युत आचार्यले उक्त काम गर्न नसकिने जवाफ दिएको उनको भनाइ छ।
काम नहुनुको कारण सोध्दा 'माथिको आदेश' भन्दै जवाफ दिइएको र थप स्पष्टताका लागि भरत कुमार रेग्मीसँग कुरा गर्न करिब दुई घण्टा कुर्दासमेत समस्या समाधान नभएको उनले बताएका छन्।
उनका अनुसार, त्यसक्रममा राहदानीसम्बन्धी कागजात उपलब्ध गराउन सकिने तर प्रहरी रिपोर्ट भने दिन नसकिने जवाफ दिइएको थियो।
चौलागाईंले भरत कुमार रेग्मीसँगको कुराकानीका क्रममा '२० लाख तिरेर युरोप आउँछन्, भियना सम्म आउन सक्दैनन् ?' भन्ने अभिव्यक्ति सुन्नुपरेको दाबी गरेका छन्। उक्त व्यवहारले आफूलाई दुःखी बनाएको उनको भनाइ छ।
मञ्जुरीनामाबाट सेवा लिन सकिने व्यवस्थामाथि प्रश्न
चौलागाईंले दूतावासको आधिकारिक वेबसाइटमा सेवाग्राही स्वयं उपस्थित हुन नसके मञ्जुरीनामा पत्र लिएर प्रतिनिधिमार्फत काम गर्न सकिने व्यवस्था उल्लेख रहेको दाबी गरेका छन्।
तर, आफूले सोही प्रक्रियाअनुसार सेवा लिन खोज्दा काम नभएको भन्दै उनले दूतावासले सार्वजनिक गरेको सूचनामाथि नै प्रश्न उठाएका छन्।
उनका अनुसार, भियनामा नेपाली दूतावास स्थापना हुनुअघि कतिपय काम इमेलमार्फत जर्मनीस्थित नेपाली नियोगको सहयोगमा सहज रूपमा हुने गरेका थिए। आफ्नै देशको दूतावास स्थापना भएपछि सेवा अझ सहज हुने अपेक्षा गरिए पनि व्यवहारमा त्यसको अनुभूति गर्न नसकेको उनले बताएका छन्।
माइनस १० डिग्रीमा दूतावासबाहिर बस्नुपर्ने बाध्यता भएको दाबी
चौलागाईंले दूतावासमा सेवा लिन विभिन्न युरोपेली मुलुकबाट आउने नेपाली नागरिकले भोग्नुपरेका समस्याबारे पनि आफ्नो अनुभव सार्वजनिक गरेका छन्।
उनका अनुसार, कतिपय सेवाग्राही काम छोडेर तीन दिनसम्म यात्रा गर्दै दूतावास पुग्ने गरेका छन्। तर, कहिले भुक्तानी प्रणालीले काम नगर्ने, कहिले बैंक ट्रान्सफर पुष्टि नभएको भन्दै अर्को दिन आउन भनिने र कहिले अपोइन्टमेन्टसम्बन्धी समस्याले सेवा नपाउने अवस्था रहेको उनको दाबी छ।
त्यस्तै, अत्यधिक चिसो मौसममा दूतावासबाहिर रात बिताउनुपर्ने अवस्था आएको र दूतावासको लापरबाहीका कारण केही नेपाली नागरिक नेपाल फर्कनुपर्ने अवस्था सिर्जना भएको घटनासमेत आफूले सुनेको तथा देखेको उनले उल्लेख गरेका छन्।
भ्रष्टाचारसम्बन्धी गुनासोको छानबिन गर्न माग
चौलागाईंले दूतावासभित्र आर्थिक अनियमितता र भ्रष्टाचारसम्बन्धी विभिन्न गुनासो समुदायमा सुनिने गरेको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रहरी रिपोर्ट, छाप तथा अन्य आधिकारिक कागजात बनाउने प्रक्रियामा अनियमितता भएको र त्यसबाट केही व्यक्तिले अनुचित आर्थिक लाभ लिएको भन्ने आरोपसमेत समुदायमा सुनिएको उनले बताएका छन्।
यद्यपि, यी विषयमा उनले प्रस्तुत गरेका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। सम्बन्धित निकायले तथ्य र प्रमाणका आधारमा छानबिन गर्नुपर्ने उनको धारणा छ।
व्यक्ति होइन, प्रणाली सुधार हुनुपर्छ
चौलागाईंले आफ्नो गुनासो कुनै एक व्यक्तिप्रतिको व्यक्तिगत आक्रोश नभई समग्र सेवा प्रणाली सुधारका लागि उठाइएको विषय भएको स्पष्ट पारेका छन्।
उनले एनआरएनएका साथीहरूलाई पनि यस्ता समस्या देखिएका नियोगहरूको सेवा प्रवाह र कार्यशैलीबारे सम्बन्धित देशका नेपाली समुदायसँग छलफल गरी आवश्यक परे कानुनी तथा कूटनीतिक माध्यमबाट सुधारका लागि पहल गर्न आग्रह गरेका छन्।
आफूले भोगेका घटनासँग सम्बन्धित बैंक भुक्तानीका प्रमाण, मञ्जुरीनामा तथा अन्य कागजातसमेत सार्वजनिक गरेको उल्लेख गर्दै उनले समुदायको साथ र सुझावको अपेक्षा गरेका छन्।
विदेशमा रहेका नेपाली नागरिकका लागि नेपाली दूतावास आफ्नै देशको सरकारसँग जोडिने प्रमुख आधिकारिक निकाय हो। त्यसैले नियोगबाट प्रदान गरिने सेवा सरल, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री हुनु आवश्यक छ।
यस विषयमा सम्बन्धित दूतावास तथा आरोप लगाइएका अधिकारीहरूको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। उठेका गुनासो र आरोपबारे दूतावासको धारणा तथा सम्बन्धित निकायको निष्पक्ष छानबिनले वास्तविकता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।