स्कटल्याण्ड । हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद कार्यसमितिको सपथ ग्रहण सम्पन्न भएको छ।गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा. रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई सपथ ग्रहण, प्रमाणपत्र बितरण र सम्मान गरेका थिए।
सो समारोहमा बोल्दै एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमीकालाई सशक्त गर्नुपर्ने बताए। यस्तैगरी एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले एनआरएनए स्वयमसेवी संस्था भएको र एनआरएनए युकेलेले गैर आवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानी, युकेमा नेपालीहरुको पहिचान, च्यारिटी शो लगायत धेरै कार्यहरुको गर्दै आएको बताए।
त्यस्तै उपाध्यक्ष ललित न्यौपानेले एनआरएनए युकेले स्कटल्याण्ड सहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद गठन गरिएको र चाँडै इङ्गल्याण्डमा राज्य परिषद् गठन गरिने बताए। यस्तै कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले नेपालीहरुको दोहरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने बताएका छन्।

स्कटल्याण्डबाट नेपालमा सामुहिक लगानीको पहल गरिने, आउँदा दिनहरुमा स्कटल्याण्डमा एनआरएनएको सदस्यता वितरण कार्य तिव्र पारिने र संगठन विस्तार गर्ने पनि बताएका छन्। अध्यक्ष कार्कीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई विदेशमा रहेका नेपाली बालबालिकाहरुमा नेपाली भाषा, लिपि, संस्कार, संस्कृतिको बारेमा जानकारी दिन भिडियो कार्टुन, पाठ्यसामग्री निर्माणको लागि पहल गर्न आग्रह पनि गरेका छन्।
एनआरएनए युकेका सल्लाहकार डा रामकुमार अधिकारीले संचालन गरेको कार्यक्रममा स्कटल्याण्ड राज्य परिषदका संरक्षण भोला खनाल, स्कटल्याण्ड राज्य परिषदका सचिव कृष्ण दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवश्यकता र भूमिकाबारे चर्चा गरेका थिए।