मंसिर १७ -यस बर्ष नेपालमा बाघ संख्या बढेको प्रति विश्व समुदायले नेपालको प्रशंसा ग¥यो । यता भारतले भने नेपालमा बाघको संख्या बढेको गणनाको रिपोर्टमाथि आपत्ती जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा बाघ गणना गर्दा आफुसंग सहकार्य नै नगरी एकतर्फी बाघ गणना गरेको भन्दै भारतले असन्तुष्टी जनाएको हो । उसले सीमा क्षेत्रमा एकतर्फी गणना गरिएको बाघ आफ्नो देशको पनि भएको दाबी गरेको छ । सरकारले सार्वजनिक गरेको रिपोर्टमा ३७ वटा बाघ बढेको भनी उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालयले भने सीमावर्ती क्षेत्रमा सहकार्य गरी एकै पटक गणना गरेको बताएको थियो । सीमा क्षेत्रमा दुवै देशका बाघ वारपार हुने र बर्दिया क्षेत्रमा खाता जैविक मार्ग हुँदै बाघ भारत जाने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । यस वर्ष गणना गरी सार्वजनिक बाघको संख्या भने बर्दिया क्षेत्रकै हो भन्नेमा निकुञ्जसमेत विश्वस्त छैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सीमा आसपासमा दुवै देशले एकै पटक क्यामेरा राखेर बाघ गणना गरेको भनी रिपोर्ट सार्वजनिक गरेको थियो । कतरनियाघाट पशु बिहारका फरेस्टर मोहम्मद आस्फाक बाघले सीमा नचिन्ने हुँदा जता पनि बस्ने बताउँछन् । भन्छन्, ‘यस्तो हुन नदिन संयुक्त गणना गरी तथ्यांक सार्वजनिक गर्नुपर्छ ।’ भारतको कतरनियाघाट पशु बिहारमा भने बाघ गणनाका लागि राखिएको क्यामेरा एक साता अघिमात्र उठाइएको विश्व वन्यजन्तु कोष भारतका सिनियर कार्यक्रम अधिकृत आशीष विष्टले बताए ।
उनी भन्छन्, ‘सीमा क्षेत्रमा संयुक्त गणना नहुँदा बर्दियामा गनिएको बाघमा भारतका पनि हुन सक्छन् ।’ बर्दियाका बाघ सीमापारि प्रवेश गरी चार महिना बस्ने भएकोले बाघ गणनाको प्रभावकारी संरक्षण नीति बनाई काठमाडौंदेखि दिल्लीसम्म प्रक्रिया सहज बनाउनुपर्ने निकुञ्जका कर्मचारीले माग गरेका छन् ।