२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई प्रश्नः टेरामक्स प्रणाली नेताहरू फोन निगरानी गर्न ल्याउनुभएको हो ? (भिडियोसहित)

6817 Shares

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । तर यस विषयमा अनेक कोणबाट बहस सुरु भएका छन् । सरकारले नेताहरूको फोन निगरानीमा राख्न टेरामक्स लागू गरेको हो भन्ने समाचार आएका छन् । तर यसमा सत्यता कति छ ? टेरामक्स के हो ? र किन लागू गरिँदैछ ? नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालसँग यिनै विषयमा गरिएको अन्तरवार्ताः

नेपाल दुरसञ्चार प्राधिकरणले लागू गर्ने भनिएको टेरामक्स के हो ? के यो साँच्चै नै सत्तापक्षका नेताले अरु नेताको टेलिफोन ट्यापिङ गर्ने तयारी स्वरुप आएको हो ?

–टेरामक्स प्रणाली दूरसञ्चार ऐनको दफा १७ ले नेपाल दूरसञ्चार प्राधिकरणलाई दूरसञ्चार प्रदायकहरूले प्रदान गरेको सेवाको महसुल र गुणस्तर तोकेबमोजिम छ कि छैन, नियामक निकायले निर्धारण गरेबमोजिम उपभोक्ताबाट असुल गरेको छ कि छैन, यो क्षेत्रबाट पाउनु पर्ने राजस्व राज्यले पाएको छ कि छैन, भिओआइपीजस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सन्दर्भमा यी विषय पहिचान र अध्ययन गरी नियामक निकायलाई रिपोर्टिङ गर्ने स्वचालित प्रविधि हो । यो प्रविधिले कुनै पनि व्यक्तिको फोन ट्यापिङ गर्दैन । र नियामक निकायको आफ्नो कार्यक्षेत्र भित्र नपर्ने कुरा राज्यले लाउन सक्दैन । कुरा प्रष्ट छ, राज्यले कसैको फोन ट्यापिङ नै गर्नु थियो भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भन्थ्यो होला । तर टेरामक्स प्रविधि फोन ट्यापिङसँग सम्बन्धित छैन ।

–तर टेरामक्स प्रविधि चाहिँ जासुसी गर्नकै लागि ल्याइएको हो भन्ने समाचारहरू आएका छन् । वास्तविकता के हो ?

–टेरामक्स प्रविधि लागू भएमा सेवा प्रदायकहरू बढी उत्तरदायी हुनुपर्ने हुन्छ । यसका केही आधार छन् । दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई लगाएको महसुलको सन्दर्भमा पहिले प्रष्ट पार्छु । तपाईले फोन गर्दा कति सेकेन्ड गर्नुभयो, कति मिनेट गर्नुभयो, त्यसको कति रुपैयाँ कति पैसा शुल्क लाग्थ्यो भन्ने कुरा जानकारीमा रहँदैन, थाहा हुँदैन । तपाईले कति डाटा प्रयोग गर्नुभयो, बाटोमा हिँड्दाहिँड्दै यो डाटा कति परिमाणमा प्रयोग गर्नुभयो, त्यसको कति शुल्क लाग्यो र कुन गुणस्तरको डाटा दिएको छ भन्ने कुराको जाँच गर्नकै लागि टेरामक्स प्रविधि लागू गरिएको हो । त्यसैगरी, तपाई फोन गर्दागर्दै काटियो, हेल्लो भन्दाभन्दै काटियो र त्यसमा चार्ज चढ्यो कि चढेन भन्ने कुरामा प्रष्ट मापदण्ड छन् । यस्तो अवस्थामा शुल्क काट्न नपाइने र शुल्क काटिएमा उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने नियम छन् । तोकिएकै गुणस्तरको सुबिधा दिनुपर्ने प्रष्ट व्यवस्था गरिएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले तोकिएको गुणस्तर र मापदण्ड पुरा गरेको छ कि छैन भनेर भोल्युममा हेर्नलाई टेरामक्स प्रविधि उपयुक्त हुन्छ ।

–टेरामक्स लागू भए दूरसञ्चार सेवा प्रदायकबाट उपभोक्ता नठगिने सुनिश्चित हुन्छ ?

–नेपालको जनसंख्या दुई करोड ९२ लाख छ । त्यसमध्ये ७१ प्रतिशतको हातमा मोबाइल छ । ७१ प्रतिशत नागरिकको फोनको लाग्ने शुल्क र प्रयोग भइरहेको डाटा व्यक्तिगत रुपमा प्रत्येकको हेर्न सम्भव पनि हुँदैन । त्यसैले यी कुरालाई एकमुस्ट हेरेर शंकास्पद गतिविधि पहिचान गरेर सेवा प्रदायकलाई जिम्मेवार बनाउने हिसाबले टेरामक्स ल्याएको हुनाले उपभोक्तामाथि हुने कुनै किसिमको ठगी नियन्त्रण गर्न सहज हुन्छ । अहिले जुन फोन ट्यापिङको हल्ला छ, त्यो विषय टेरामक्स प्रविधिभित्र पर्दैन । खुला टेण्डर प्रक्रियाबाट आएको हो, यसले के गर्छ भन्ने कुरा त्यहाँ प्रष्ट थियो । त्यसैले यसले कसैको निगरानी गर्ने भन्ने कुरा हुनै सक्दैन । दूरसञ्चार सेवा प्रदायकको सिस्टममा समान रुपमा बस्छ । त्यसैले यसबाट कसैको निगरानी हुँदैछ भन्ने कुरा मित्था हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स लागू गर्दैछ, यसबाट कसैको निगरानी हुँदैछ भन्ने हल्ला किन चल्यो त ? तपाईहरूले प्रष्ट पार्न किन सक्नुभएन ?

–टेरामक्स प्रणाली लागू भएपछि सबैभन्दा बढी घाटा दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई छ, जसले उपभोक्तालाई ठगी गर्दै आएका छन् । उपभोक्ताले गुणस्तरीय सेवा पाएन भने क्षतिपूर्ति दिनुपर्छ । भ्वोइसको गुणस्तर भएन भने पनि क्षतिपूर्ति दिनुपर्छ । अहिलेसम्म मेरो सेवा ठिक छ, सबै राम्रो छ भनेका छन् । तर उपभोक्ताका तर्फबाट अधिकतम गुनासो आएकै छन् । मैले गुणस्तरीय सेवा पाइनँ, मैले टपअप गर्ने बितिकै पैसा काटियो भन्ने गुनासो उपभोक्ताबाट तपाई हामीले सुन्ने गरेकै छौँ । अब मेसिनले नै ठिक छ कि छैन भनेर जानकारी दिने भयो । उपभोक्तामाथि ठगी नहुने भयो । सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने भयो । उत्तरदायी हुनुपर्ने भयो । सेवाप्रदायकको तर्फबाट मच्चाइएको एउटा हल्ला हो । सेवा प्रदायकले टेरामक्स लागू नहोस् भन्ने चाहन्छन् । त्यसैले पनि केही व्यक्ति लागेका छन् । यो विषयको सत्य के हो भन्ने कुरा नागरिकलाई जानकारी दिइने छ । हल्ला निराधार छ भन्ने जानकारी गराउन पनि चाहन्छु ।

–दूरसञ्चार सेवाको गुणस्तर मापन कसरी हुन्छ ?

–हामी टेष्ट ड्राइभ पनि गर्छौ । टेष्ट ड्राइभ भनेको हाम्रो मेसिन गुडाएर जाँदा तोकेको मापदण्डको सेवा छ कि छैन भन्ने प्रमाणित भएको छ । दुरसञ्चार सेवाको गुणस्तर के छ भन्ने कुरा प्रष्ट आउँछ । भिओआइपी गतिविधि भएको भए निगरानी गर्न सकिन्छ । सरकारको आधिकारिक निकायकै प्रतिवेदनमा भिओआइपीबाट १२–१३ अर्ब चोरी हुने उल्लेख थियो । यस्तो सम्पूर्ण पक्षलाई हेरेर राज्यको राजस्व सुरक्षित गर्नकै लागि दूरसञ्चार प्राधिकरणले यो प्रविधि लागू गर्ने तयारी गरेको हो । दूरसञ्चार सेवा प्रदायकहरू पारदर्शी हुनुपर्छ । तोकिएको गुणस्तरको दिएको छ कि छैन । यदि छैन भने क्षतिपूर्ति दिलाउने कुरा पहिले कागजमा मात्रै थियो । अब मेसिनले परीक्षण गरेर प्रष्ट हुने भयो । त्यसैले सेवाप्रदायक बढी जिम्मेवार हुनुपर्ने भएकाले कोही–कोहीलाई त्रास भएको हो । तर अहिलेसम्म जे–जे भयो । अब उपभोक्ताको अधिकारको पक्षमा हामी अघि बढिसक्यौ । टेरामक्स लागू हुन्छ । उपभोक्ताले आफूले तिरेको शुल्क अनुसारको सुबिधा पाउनै पर्छ ।

 

प्रतिक्रिया