२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

नेपालको एसिया कप यात्रा

55 Shares

काठमाडाैं । युएईलाई ७ विकेटले हराउँदै नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ । सन् २००२ मा फाइनलमा यूएईसँग ६ विकेटले हारेको नेपाल उपविजेताको रुपमा एसिया कपमा पुगेपनि भारत र पाकिस्तानको आन्तरिक विवादका कारण प्रतियोगिता नै रद्द भएपछि खेल्नबाट बञ्चित भएको थियो ।

नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ । मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो । नेपालले पहिलो पटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो । सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने ब्यवस्था थियो । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । नेपाल एसिया कपमा पुगेपनि प्रतियोगिता नै हुन सकेको थिएन ।

भारत र पाकिस्तानसँगको आन्तरिक विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन । पछिल्लो दुई महिनामा जादुमय प्रदर्शन गरेको नेपाली टोलीको एसिया कप यात्रा पूर्व पनि निकै ठूला यात्रा तय गरेको छ । संकटमा परेको एक दिवसीय मान्यता आगामी चार वर्षका लागि जोगाएको नेपाल एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाएको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर एसियाका ५ टेस्ट मान्यता प्राप्त टोली सहभागी हुने एसिया कपमा छनोट हुन सफल भयो । नेपालले एसिया कपको समूह चरणमै पाकिस्तान र भारत जस्ता विश्व क्रिकेटका महाशक्तिसँग खेल्नेछ ।

गत फेबु्रअरीमा मोन्टी देसाई नेपाली टोलीको प्रशिक्षक बनेर आएयता नेपाल क्रिकेटमा उछाल आएको छ । त्यति बेला नेपालले विश्वकप लिग– २ मा १२ खेल खेल्न बाँकी थियो । प्रायः सबै जितेमा मात्र नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बच्न सक्थ्यो । नेपालले १२ मध्ये ११ खेल जित्यो र विश्वकप छनोटमा पनि स्थान बनायो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्ला १४ मध्ये १३ खेल जितेको छ । यस्तै त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला सबै १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ । कुनै समय एसियाली एसोसिएट क्रिकेटको सबैभन्दा सशक्त मानिएको यूएईसँग नेपालले खेलेका पछिल्ला ७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये ६ वटा जितेको छ । पछिल्ला दुई महत्वपूर्ण जितमा नेपाली क्रिकेट टिमका गुल्सन झाको प्रदर्शन सम्झना लायक रहयो ।

विभिन्न उपलब्धिसँगै नेपाली टोलीले पछिल्लो दुई महिनामा धेरै राष्ट्रिय कीर्तिमान बनाइसकेको छ । जसको नेतृत्व गरिरहेका मोन्टी देसाई खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छन् ।

नेपाली क्रिकेट टोलीको सफलताको पछि नेपाली क्रिकेट फ्यानको भूमिका महत्वपूर्ण रहँदै आएको छ । अनेकन् समस्या झेल्दै दर्शकदीर्घामा रहेर खेलाडीको मनोबल बढाउन भूमिका खेलेका उनीहरुको सोमबार र मंगलबार मैदानमा भोगेको सास्तीले ब्यवस्थित रंगशालाको सपना देखाउने सरकारलाई गिज्याइरहेको थियो ।

प्रतिक्रिया