२०८३, २२ बैशाख मंगलवार
×

ट्रेन्डिङ

वायु प्रदूषणको असरले हरेक वर्ष १० लाखको जीवन गर्भमै तुहिन्छ

1507 Shares
Spread the love

काठमाडौं। वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ ।

नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन प्रतिवेदनअनुुसार जन्मेका, जवान र पाका भइसकेका मानिसमा मात्रै नभई गर्भमा रहेका शिशुमा समेत वायु प्रदूषणको गम्भीर असर देखिएको जनाएको छ । अध्ययनअनुसार विश्वमा धेरै बालबालिका मृत जन्मनुमा वायु प्रदूषणलाई कारक मानिएको छ । वायुमण्डलमा रहने धुलाका मसिना कण २ दशमलव ५ पीएम र मृत शिशुसँगको सम्बन्ध रहेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

वायुमण्डलमा हुने २ दशमलव ५ पीएम पेट्रोल, डिजेल, धुवाँ र धुलोमा रहने गर्छ । धुलोका मसिना कण शरीरमा प्रवेश गरेपछि फोक्सोलाई असर गर्नुका साथै मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराइदिन्छ । विशेषगरी, बालबालिकालाई धुलोका कणले नराम्रोसँग असर गरिरहेको हुन्छ ।

आँखाले देख्न सकिने धुलोका कणलाई पीएम १० मा मापन गरिन्छ । पीएम २ दशमलव ५ मा आँखाले देख्न सकिनेभन्दा चारगुणा साना कण हुन्छन् । वातावरणविद्का अनुसार पीएम २ दशमलव ५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने गर्छ । राजधानी दैनिकबाट

प्रतिक्रिया