२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

उपनिर्वाचनः कांग्रेस तनहुँमा १३ जनाले दिए दरखास्त

1225 Shares
Spread the love

तनहुँ। वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन्।

शुक्रबार ६ जना र शनिबार सात जनाले उम्मेदावारी दिएका थिए । केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार दरखास्त दिनुभएको क्षेत्रीय सचिव दयानिधी नरालले जानकारी दिए।

यसैगरी शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले दरखास्त दिनु भएको उनले जानकारी दिए।

उम्मेदवारी आकांक्षीसँग ६ हजार शुल्क लिइएको छ। तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदैछ। उम्मेदवारी दिएका मध्ये सबैभन्दा सिनियर केन्द्रीय सदस्य भट्टराई भएकोेले उनले नै टिकट पाउने सम्भावना रहेको कांग्रेसका जिल्ला नेताहरु बताउँछन्।

निर्वाचन आयोगले तनहुँमा वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको छ। उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। चैत्र १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना हुने र चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका आयोगको छ।

प्रतिक्रिया