काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपतिको निर्वाचन गराउँदै छ। आज दिउँसो ३ बजेसम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने निर्वाचन आयोगको आन्तरिक तयारी छ।
निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रपतिका लागि नेकपा (एमाले)का तर्फबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेद्वारी दिएका छन्।
पौडेललाई नेपाली काँग्रेससहित ८ दलको समर्थन छ भने नेम्वाङलाई जिताउन नेकपा (एमाले) दिलो ज्यान दिएर लागेको छ। यसपालीको राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीमा १७ औं पटक असफल भएका पौडेलको शितल निवास पुग्ने सम्भावना बलियो देखिएको छ।
पौडेललाई माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। माओवादी केन्द्रसहितका ८ दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा पौडेलको जित पक्का जस्तै छ।
संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्याउनु पर्दछ।
कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ। जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले आज हुने निर्वाचनको नतिजाताप्रति पौडेल ढुक्क छन्।
सम्पूर्ण तयारी पूरा
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलअनुसार निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भइसकेको छ।
उनले प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताएका छन्। ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।
संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने पनि उनले जानकारी गराएका छन्। मतदान बिहान १० बजेदेखि शुरु भइ ३ बजेसम्म हुने भन्दै ३ बजेपछि लामवद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने स्पष्ट पारेका छन्।
अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको बताएका छन्। मत गणना सकिएसँगै ल्होत्से हलमै आएर मत परिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलको भनाइ छ।