लण्डन । मोना भलिबल क्लब युकेले बेलायतमा सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलिबल क्लबको संयोजकत्वमा सम्पन्न हुने प्रतियोगिता रस्मुर सेन्ट्स फुटबल क्लब अल्डरसटमा हुनेछ । प्रतियोगितामा पुरुष, महिला र प्रौढ भलिबल प्रतियोगितामा प्रतिस्पर्धा हुने मोना युकेका अध्यक्ष दल जुग्जालीले जानकारी दिए ।
पुरुषतर्फ प्रथम पुरस्कार १५०० पाउण्डर दोस्रो पुरस्कार ८५० पाउण्ड तथा महिलातर्फ प्रथम पुरस्कार ६०० पाउण्ड र दोस्रो पुरस्कार ४०० पाउण्ड रहेको छ । त्यसैगरी ४० बर्ष भन्दा माथि उमेर समूहको प्रौढ भलबिल प्रतियोगिताको प्रथम पुरस्कार ८०० पाउण्ड र दोस्रो पुरस्कार ४०० पाउण्ड राखिएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
पुरुष तर्फ १६ टिम, महिला तर्फ ७ टिम र प्रौढ तर्फ ९ टिम गरि जम्मा ३२ टिमको सहभागिता हुने बुझिएको रहेको छ । प्रायः जसो टिमले आफ्नो टिम दर्ता गराइसकेको र इच्छुक क्लबले अझै नाम टिपाउन सक्ने सचिव तारा गर्बुजाबाट जानकारी प्राप्त भएको छ ।
बेलायतमा नेपाली समाजमाझ निकै सफल रहेको मोना भलिबल क्लबले आगामी दिनहरुमा अझै राम्रो गर्न सक्ने क्षमता खेलाडीमा रहेको क्लबका प्रशिक्षक टेक बुढाथोकीको भनाइ छ ।
यसप्रकारका प्रतियोगिताहरुले बेलायतमा छरिएर रहेका म्याग्दी प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आत्मियता बढाउने र म्याग्दीको संस्कार र संस्कृतिको संरक्षण गर्नेमा सहयोग पुर्याउने विश्वास नवनिर्वाचित एनआरएन युवा संयोजक तथा मोना भलिबल क्लब युकेका अध्यक्ष अनिल मल्लले राखे । उनले भलिबल खेलको माध्यमबाट आफ्नो जन्मथलो म्याग्दी जिल्लाको नाम पहिचान गराउने र प्रतिभा भएका खेलाडीहरुको कला, सिपको प्रर्दशन साथै एकता बलियो बनाउने जस्ता कुरामा सहयोग पुर्याउने बताए ।