२०८३, १८ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

समीरलाई किन लगियो अकस्मात जोमसोम ?

791 Shares
Spread the love

काठमाडौं : गृह मन्त्रालयले गुन्डा नाइकेका रूपमा चिनिएका समीरमान सिंह बस्न्यातलाई मुस्ताङ कारागार सरुवा गरेको छ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्नको आरोपमा बस्न्यात पूर्पक्षमा छन्।

नख्खु कारागारमा राखिएका बस्न्यातलाई एकाएक जीर्ण कारागार मुस्ताङ सरुवा गरिएपछि प्रहरी अधिकारी सशंकित भएका छन्। जहाजमार्फत सोमबार पोखरा पुर्‍याई सडकमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो।

दिनेश अधिकारी ‘चरी’ माथि गोली हान्नेमध्येका अम्मर राना बस्न्यात समूहकै हुन्। गुन्डा नाइके दाबा लामालाई बस्न्यातकै निर्देशनमा गोली प्रहार गरिएको थियो। पटकपटक गम्भीर प्रकृतिका अपराधमा जोडिएका बस्न्यातलाई सुरक्षित कारागारमा राख्नुपर्ने भए पनि जीर्ण कारागारमा सरुवा गरिएको छ।

अहिले मुस्ताङ कारागारमा ९ जना कैदीबन्दी छन्। ढुंगा र काठले बनेका दुईवटा कोठा छन्। कारागारमा कम्पाउन्ड पर्खाल लगाइएको छैन। तारबार लगाइए पनि फलाम जीर्ण छन्। ८ जना मात्रै प्रहरी बस्छन्। जिल्ला प्रहरी कार्यालय र कारागार झण्डै १० किलो मिटरको दुरीमा छ। कारागारमा भवितव्य भइहाले तत्काल थप मद्दतका लागि प्रहरी पुग्न सजिलो छैन। कारागार नजिकै सेनाको ब्यारेक छ। बस्न्यातलाई मुस्ताङमा सरुवा गरिएको घटनालाई प्रहरीले सुक्ष्म निगरानी सुरु गरेको छ।

नख्खुमा बस्दा बस्न्यातलाई भेट्न आउनेमाथि निगरानी, टेलिफोन गर्न नदिने, चन्दा असुलीका घटनामा उनीमाथि सोधपुछ हुनेलगायतका घटनाक्रम पछि मुस्ताङमा सरुवा गरिएको स्रोतको दाबी छ। प्रहरीबाटै धेरै निगरानी हुने र ज्यानको खतरा रहेको भन्दै बस्न्यातले सरुवा मागेको उच्च स्रोतले बताएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले यसबारे गृहलाई जानकारी नभएको जनाए। उनले भने, ‘यसबारे जफाव दिन सक्दिन। कारागार व्यवस्थापन विभागलाई नै कैदीबन्दी सरुवाबारे अधिकार छ। उतै सोध्नोस्।’ विभाग गृह मातहत नै पर्छ हैन र भन्ने प्रश्नमा सुवेदीले भने, ‘ गृहको मातहत त धेरै निकाय छन्, ती निकायलाई नै जिम्मेवार बनाइएकाले सबैको जिम्मेवारी गृहले लिन सक्दैन।’

बस्न्यात तिनै अभियुक्त हुन् जो प्रहरीकै संरक्षणमा भारतबाट नेपाल ल्याईएको थियो। गौचन हत्या प्रकरणमा बनेको छानबिन समितिलाई नै ‘ओभरटेक’ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नै हिरासतमा लामो समय राखेर मुद्दा चलाउन काठमाडौं प्रहरीको जिम्मा लगाएको थियो। भारतमा बसेर नेपालका व्यावसायीलाई धम्क्याउँदै रकम असुलीको आरोप समेत बस्न्यातमाथि छ।

‘एकाएक किन मुस्ताङ लगियो हामी आश्चर्यमा छौं। कारागारको दृष्टीकोणले मुस्ताङ अत्यन्तै जीर्ण हो’, एक उच्च प्रहरी अधिकृतले भने, उनले बस्न्यातलाई भगाउन वा अन्य प्रयोजनका लागि मुस्ताङ सरुवा गरिएको बारे आशंका व्यक्त गरे।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले बस्न्यातको सरुवा सामान्य प्रक्रिया रहेको बताए। उनले भने, ‘कैदीबन्दीको सरुवा स्वभाविकै हो। दुर्गम भए पनि हामीले सुरक्षा व्यवस्थापन मिलाएका छौं। उनलाई त्यस्तो सुरक्षा थ्रेट देखिँदैन।’

यसैबीच समीरमानलाई सोमबार प्रहरीले पर्वत लगेको छ। काठमाडौंबाट जहाजमा पोखरा ल्याइएका उनलाई जोमसोम कारागारमा राख्न लैजाने गरी सोमबार पर्वतमा बास बसाइएको हो।

पोखरा एयरपोर्टबाट बस्नेतलाई प्रहरी भ्यानमा पर्वत पुर्‍याइएको छ। समिरलाई सोमबार बिहान बुद्ध एयरमा काठमाडौंबाट पोखरा ल्याउँदा एक जना प्रहरीसँगै देखिन्थे। समिरलाई पोखरा हुँदै जोमसोम लगिने पत्तो पाएकी बस्नेतकी श्रीमती माया शेरचन बस्नेत देवरसहित राति नै पोखरा आएकी थिइन्।

पोखरा विमानस्थलमा भेटिएकी मायाले काठमाडांैको नख्खु जेलमा रहेका आफ्नो श्रीमानलाई एकाएक जहाजबाट पोखरा ल्याएर जोमसोम कारागारमा लग्नुमा प्रहरीको केही षडयन्त्र रहेको सुनाइन्।

प्रतिक्रिया