२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

मेनपावर कम्पनीबाट ७६ करोड भन्दा बढी ठगी

6796 Shares
Spread the love

काठमाडौं। वैदेशिक रोजगारका नाममा विभिन्न मेनपावर कम्पनीले ७६ करोड भन्दा बढी रकम ठगी गरेको पीडितले वैदेशिक रोजगार विभागमा दाबी गरेका छन्। मेनपावर कम्पनीले विदेश पठाइदिन्छु भन्दै रकम असुल्ने र नपठाउने, विकसित मुलुकमा रोजगारका लागि पठाइदिन्छु भन्दै बढी रकम लिने, नक्कली भिसा दिने, एउटा काम भनेर अर्को काममा लगाइदिने भन्दै वैदेशिक रोजगारमा जाने युवाहरुलाई ठग्दै आएका हुन्।

विभागमा आर्थिक वर्ष २०७४/७५ को तथ्यांक अनुसार मेनपावर कम्पनी विरुद्ध १ हजार २० वटा उजुरीहरु परेका छन्। जसमा ८ सय ३२ वटा उजुरीलाई विभागले फरफारक (लेनदेनको हिसाबकिताब बाट ) मिलाएको तथ्यांकमा उल्लेख छ। उजुरीमा विभागले भराएको बिगो रकममा ४९ करोड ५४ लाख ९ हजार ३ सय ६० रुपैयाँ रहेको छ। विभागमा भरिएको बिगो रकम भन्दा बिगो दाबी रकम झन्डै २७ करोड बराबरको रकमको फरक छ।

हालसम्म २० करोड २१ लाख ९४ हजार रुपैयाँ बिगो रकम पीडितलाई फिर्ता गरेको विभागले बताएको छ। विभागका कार्यकारी निर्देशक उद्धवप्रसाद रिजालले उजुरीमा भरिएको बिगो रकम भन्दा दाबी रकम बढी हुनुमा विभागले पीडितका कुरा र ठगीको प्रमाणका आधारमा तय गरेको बताएका छन्।

कतिपय अबस्थामा पीडित पक्षलाई मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारको नाममा उल्लेखित रकम भन्दा बढी रकम असुल्ने तर रकम रकम लिएको प्रमाण दिने जस्ता समस्याका कारण पनि बिगो रकम भन्दा दाबी रकम बढी हुने उल्लेख गरे।

विभागमा परेका ठगीका उजुरीलाई सकेसम्म पीडित र पीडक दुबैपक्षलाई सँगै राखेर उनीहरु दुबैको कुरा सुनिसकेपछि विभागले उजुरीहरु मिलाउने र पीडित पक्षलाई राहत दिँदै आएको छ। ठगीको प्रकृति हेरी मेनपावर कम्पनीलाई सोही अनुरुपको जरिवाना तथा सजाय दिने गरेको विभागले जनाएको छ। एक वर्ष भरीमा मेनपावर कम्पनी विरुद्ध परेका उजुरीका आधारमा विभागबाट ३७ लाख जरिवानाको निर्णय समेत भएको तथ्यांकमा उल्लेख छ।

वैदेशिक रोजगारको नाममा ठगीगर्ने विभिन्न मेनपावर कम्पनीलाई प्रमाणका आधारमा विभागले कारबाही गर्दै आएको छ। विभागले हालसम्म ठगी गर्ने ६६ वटा मेनपावर कम्पनीको कारोबार रोक्का गरेको छ भने १ सय ९७ वटा मेनपावर कम्पनीलाई ब्लक लिस्टमा राखेको छ। रोक्का गरिएका मेनपावर कम्पनीलाई विभागले कम्पनीको कामको प्रकृतिका आधारमा फुकुवा गर्ने गरेको छ।

कम्पनीलाई रोक्का गर्दा वैदेशिक रोजगार सम्बन्धी काममा धेरै बाधा पर्ने भए सम्बन्धित पीडित पक्षलाई कम्पनीले ठगीको रकम उपलब्ध गरेर सहजीकरण सिर्जना गरेमा वा धरौटीका आधारमा समेत रोक्का मेनपावर कम्पनीको कारोबार फुकुवा गर्ने विभागले जनाएको छ।

 

प्रतिक्रिया