२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

यो संकटमा ‘सकारात्मक कुरा पनि सोचौं न ‘

1948 Shares

आमा भन्नुहुन्छ “यो लकडाउन भन्ने कुरा त हरेक बर्ष भईदिए राम्रो हुन्थ्यो, कमसेकम यसैको बहानाले कयौं बर्षपछी हाम्रो खेतबारीले आफ्नो वास्तविक धनिकों अनुहार देख्न पायो” | काठमाण्डू लगायत का शहरहरुबाट विशेष चार्डपर्वमा मात्रै “गाँउ जाने” भन्दै पुस्तौं शहरिया बनेको ढोङ गर्नेहरुपनि यतिबेला आफ्नो वास्तविक “घर” खोज्दै पैत्रिक घरमा पुगेका छन ।

घर र आँफ्ना परिवार भनेको जस्तो परिस्थितिमा पनि हामीबाट टाढा हुनै सक्दैन भन्ने कटु सत्य प्रमाणित गरेको छ यो अप्रत्याशित अवस्थाले, कयौं पहिलो पुस्ता र तेश्रो पुस्ता (हजुरबा आमा र नाती नातीना) बीच नजिक हुने मौका मिलेको छ यही लकडाउन ले । धेरै शहरमुखी बुहारीहरुलाई आफ्नो श्रीमानको पुर्खौली थलों को महत्व दिलाएको छ यसले ।

खाजामा मम चाउचाउ र चिप्स भन्दा अरु कुनै खाने कुरा नै हुदैन भन्ने निश्चय गरिसकेका कयौं नेपाली शहरियाहरुलाई मकै सातु, भट्टमास, चिउरा , थेप्चे रोटी कोदोको पुवा जस्ता स्वस्थ्यकर खानेकुराहरु पनि छन है भन्ने ज्ञान दिलायो । घरमा जगेडा कसरी गर्ने , हाम्रा अग्रजहरुले किन पकाउने बेलामा हरेक मुठ्ठी चाँमल बाट एक चिम्टी चाँमल फर्काएर डालो या बोरामा हाल्दा रहेछन , मङ्सीरमा धेरै भएको सागलाई गुन्द्रुक बनाईए पछी सुखा र अभावमा त्यसले हरियों सागको काम गर्छ भन्ने, एउटा करकलो बाट कति थरी ड्राई तरकारी बन्दों रहेछ जस्ता कयौं जीवनमा अति महत्वपूर्ण कुरा सिकाएको छ यो असामान्य भनिएको अवस्थाले !
त्यती मात्रै कहाँ हो र आफ्ना ईष्टमित्र नातागोता कुटुम्वहरु कहाँ र कसरी बसेका छन कस्लाई के भनेर सम्वोधन गर्ने भन्ने कुरा पनि यसपालीको यो महामारी भनिए को स्थितीले बुझाएको छ । उता भलै विश्व स्वास्थ्य संगठनले खुलेर समर्थन गरेको छैन तर पनि हामीले अधिक मात्रामा प्रयोग गर्ने बेसार लसुन जिरा लगायतका हाम्रा मौलिक र स्थानिय मसालाहरु लगायत कयौं जडीबुटीहरुको बारेमा एकपटक सोच्न प्रेरित गरायो यो विषम परिस्थिति ले ।

चाख लाग्दो कुरा त यो पो भयो कि यतिबेला कुनैपनि धार्मिक मन्दिर गुम्वा, चर्च या मश्जिदहरु खुलेका छैनन तैपनि ईश्वरले आँफ्नो कर्तव्य यथावत गरिरहेको देखियो, न कसैको भाक्कल न कसैको टुन्डा, न कतै आइतवार विशेष चर्च समारोह तैपनि प्रकृतिले आँफ्नो नित्यकर्म गरेकै छ ।
यता ग़ैर आवासीय नेपाली संघ को गएको एक महिना को डाटा अनुसार ७७% बिदेशी भुमीमा रहेका नेपालीहरु नेपाल फर्किन चाहान्छन रे यसको मतलब ती नेपालीहरुलाई पक्कै नेपालमा नै गएर केही गर्नु पर्छ , केही गर्न सकिन्छ भन्ने सोच आएको हुन पर्छ जुन कुरा देशको लागी एकदमै सकारात्मक हो ।
म आफै एक महिना पहिले सोच्थें कि “ यदी म एक हप्ता घरमा काम नगरी बसेँ भने त जहाजै डुब्छ” , तर खै आज एक महिना भयो मेरो त्यस्तो जहाजै डुब्ने केही त भएको छैन । म हरेक बिहान दाँत पनि राम्रोसंग ब्रस नगरी के के नै छोप्नु छ जसरी दौडन्थे तर एक महिना भयो घरमा नै छु सक्दो आफुलाई समय दिन पाएको छु । मनमा सोचेको कुराहरु गर्ने प्रयास गरेको छु , छोरी पनि घरैबाट जागीर गर्दैछ , श्रीमती पनि अनावश्यक धपरी गरेर काम मा दौडेकी छैनन् , छोराले पनि पहिले भन्दा बड़ी नै फोनमा सम्पर्क गर्दैछ । मेरी आमालाई दिनमा एकपटक को सट्टा दुई तिन पटक फोन सम्पर्क गरिन्छ त्यस्तै सबै साथीभाईसंग जोड़िने कोशीस गरेको छु ।

२६ बर्ष पछी पहिलो पटक हाम्रो एसएलसी ब्याच का साथीहरु बिच सम्पर्क भएको छ । हरेक आफन्तहरुलाई एकआपसमा कस्तो सम्वन्ध हुन पर्ने रहेछ भन्ने महसुस गरेको मैले ठानेको छु ।
हरेक विषय आफुले सोचेको भन्दा प्रतिकुल हुने बितिक्कै संसारै ठप्प हुन्छ भन्ने भ्रममा रहेछौं हामी सबै, तर त्यस्तो हैन रहेछ , हामीले आँफैलाई बिर्सेका रहेछौं , हाम्रा प्रतिस्पर्धात्मक दौड़हरु फगत रहेछन, प्रकृतिले चाहेमा मात्रै सबैकुरा ठप्प हुने रहेछ , हामीले हामी प्रकृतिको दास हौ भन्ने कुरा बिर्सेका रहेछौं । हिजो कति कमाउने र कसरी कमाउने चिन्ता थियो तर आज त्यो कमाउने कुरा नै नभएपछी चिन्ता के को मान्नु , यतिबेला अनावश्यक भेटघाट छैन , धनसम्पति देखाउने होडबाजी छैन, अनावश्यक सभा समारोह र पार्टीहरु भएका छैनन् जसले गर्दा कयौं का घरमा प्रतिस्पर्धात्मकता मानसिकताबाट हुने नकारात्मक वातावरण बनेको छैन । यता परिवारमा पनि एकआपसको महत्व पनि यही अवस्थामा बड़ी देखिदो रहेछ , म आफै बिरामी परेको गएको दुई हप्ता मेरी श्रीमतीले गरेकी सेवाको साहेदै मैले भुक्तानी गर्न सकुला । सच्चा साथीभाई पनि यस्तै बेलामा चिन्ने बेला रहेछ ।
संसार नै म ठप्प पार्न सक्छु भन्ने घमण्डी राजनैतिक नेताहरु पनि यतिबेला धराशायी बन्दै गएको प्रष्ट हुदैछ । हामीले संसारमै सबैभन्दा व्यवस्थित र शक्तिशाली भनिएका देशहरुको हविगत पनि यही महामारीले देखायो । यसले मलाई लाग्छ हाम्रो जस्तो तेश्रो विश्व अन्तर्गतका राष्ट्रहरुलाई पनि धेरै पाठ सिकाउन का साथसाथै मनोबल बढाउन मद्दत गर्नेछ ।
अन्तमा मेरो बिचारमा त हामी असामान्य अवस्थामा थियौं , जानै नपर्ने गन्तव्यका लागी दौडीरहेका थियौ, हामीले बाटो भुलेका थियौं हामीलाई यो कोरोना भाईरसरुपी महामारी मार्फ़त सामान्य जीवन जीउन प्रेरणा मिलेको छ ।

हामीलाई अझै ढिलो भएको छैन बिराएको बाटोबाट फर्किन या सही बाटो तर्फ मोडीन अभिप्रेरित गरेको छ । यसलाई यसरी सकारात्मक रुपमा लिऔं । सबै सुरक्षित रहौं, भावनात्मक हिसाबले नजिक रहौं, एकआपस भाईचारा क़ायम राखौं । सबैको जय होस्…..

प्रतिक्रिया