२०८३, ११ कार्तिक मंगलवार
×

सागका स्वर्णधारी बक्सिङ खेलाडीहरुलाई बस्नेतले बेलायतबाट पठाए पुरस्कार

1661 Shares

काठमाडौं । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी कुश बस्नेतले १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्णपदकधारी बक्सिङ खेलाडीहरुलाई गहिरो सम्मानसहित नगद पुरस्कार प्रदान गरेका छन् ।

बेलायतमा रहेका बस्नेतले बक्सिङ खेलप्रतिको माया प्रकट गर्दै खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि सम्मान पठाएका हुन् ।

बस्नेतले आफू काम विशेषले बेलायतमै रहे पनि आफ्नो मन नेपालमै रहेको र बक्सिङ खेलप्रति नै नजिक रहेको भन्दै देशको नाम राख्ने खेलाडीलाई हौसला प्रदान गर्न लागेको बताए ।

उनले खेलाडीहरुले जितेको त्यो स्वर्ण आफूले जितेजत्तिकै भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

सागमा नेपालको पदक

काठमाडौंमा सम्पन्न १३ औं सागमा नेपालले बक्सिङबाट ३ स्वर्णपदक जितेको थियो । बक्सिङमा नेपालले सन् १९९९ मा भएको आठौं सागपछि पहिलो पटक स्वर्णपदक जितेको हो ।

नेपालले यसपटक ३ स्वर्ण, ६ रजत र ३ कास्य जितेको थियो ।

नेपालका लागि सनिल शाही, मीनु गुरुङ र भुपेन्द्र थापामगरले स्वर्ण जितेका थिए ।

कुशको सहयोग

कुश बस्नेतले स्वर्ण विजेतालाई जनही २५ हजार रुपैयाँसहित ७५ हजार रुपैयाँ पुरस्कार पठाएका छन् । उक्त रकम बिहीबार एक कार्यक्रमका बीच खेलाडीहरुलाई प्रदान गरिँदैछ ।

उनले सागका बेलामै पुरस्कार रकम घोषणा गरेका थिए । त्योसंगै मायाको चिनो पनि प्रदान गरिँदैछ ।

मध्यान्ह १२ बजे राष्ट्रिय खेलकुद परिषद राखेपको प्रचारप्रसार शाखामा राखेपका वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केको संयोजकत्वमा तीन जनै खेलाडीलाई पुरस्कार प्रदान गरिँदैछ ।

प्रतिक्रिया