काठमाडौं– काभ्रेका सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दूई स्वर्ण पदक जितेका छन् । पहिलोपटक सागमा समावेश गरिएको गल्फमा १७ वर्षीय तामाङले स्वर्ण पदक जितेका हुन् ।
एयरपोर्ट्स्थित रोयल नेपाल गल्फ क्लबमा बल ब्वाईबाट करिअर सुरु गरेका सुवास हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आवद्ध रहेका छन् । सुवासले गल्फ खेल्न थालेको ६ वर्ष भयो । २ वर्ष यता भने उनले अन्तर्रा्ष्ट्रिय प्रतिष्पर्धामा समेत सहभागिता जनाउन थालेका थिए ।
सागको शुक्रबार भएको अन्तिम राउन्ड सकिदा सुवासले व्यक्तिगत स्पर्धामा १४ अन्डर २७४ स्कोर गरे। उनले बंगलादेशका मोहद फराद र नेपालकै शुक्रबहादुर राईलाई पछि पारे। टिम इभेन्टतर्फ निरज तामाङ, शुक्रबाहादुर राई र टंक कार्कीसँग मिलेर अर्को स्वर्ण जिते।
जारी १३ औं दक्षिण एसियाली खेलकुदमा सुवास दोहोरो स्वर्ण जित्ने तेश्रो खेलाडी भएका छन्। यसअघि करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोबाट आयशा शाक्यले दोहोरो स्वर्ण जितेका छन्।