काठमाडौं । दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड खुला भएको छ । आठौं चरणअन्तर्गत शनिबार शुरवीर लामा र पुरुषोतम चौंलागाईं तथा भूपेन्द्र निरौला र सुमित पन्तबीच सम्पन्न दुवै खेल बराबरीमा भएसँगै प्रतियोगिताको उपाधि होड खुला भएको हो ।
आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता पुरुषोत्तम चौंलागाईंले सातौं चरणको खेलमा प्रतियोगिताका शीर्ष खेलाडी फिडेमास्टर रूपेश जयसवालमाथि जित हात पारेका थिए ।
डायनामिक चेस एकेडेमी दमकका क्यान्डिडेट मास्टर भूपेन्द्र निरौलाले थापाथली चेस पार्कका क्यान्डिडेट मास्टर क्षितिज भण्डारीलाई हराए । आठौं चरणको समाप्तिमा पुरुषोत्तम तथा भूपेन्द्र समान ६ दशमलव ५ अंकसाथ पहिलो स्थानमा रहन सफल भए ।
प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन शुरवीर लामा, फिडेमास्टर रूपेश जयसवाल, गजुरमुखी चेस क्लबका फिडेमास्टर मनिष हमाल तथा थापाथली चेस पार्कका सुमित पन्त समान ६ अंकसाथ दोस्रो स्थानमा छन् । उनीहरूको उपाधि होड कायमै छन् ।
आइतबार प्रतियोगिताको अन्तिम चरणको खेलमा सुरुवाती तीन बोर्डमा हुने नतिजाले मात्र उपाधिको छिनोफानो हुनेछ ।