काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन एक सातापछि सरेको छ । असोज दोस्रो साता हुने भएको छ । नयाँ मितिअनुसार अब क्यानको निर्वाचन ११ र १२ असोजमा हुनेछ । यसअघि क्यानको निर्वाचन ३ र ४ असोजमा हने तालिका थियो । असोज पहिलो साता हुने निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असहमति जनाएपछि निर्वाचन हुनेमा अन्यौलता सिर्जना भएको थियो ।
सोमबार राजधानीमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, स्वतन्त्र समितिका आईसीसी प्रतिनिधि अमर शेख र इमरान ख्वाजाबीचको छलफलले असोज १० र ११ मा गर्ने निर्णय गरेको स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठले जानकारी दिए ।
स्वतन्त्र समितिले निर्वाचनका लागि स्वीकृति नलिएको, २१ दिने सार्वजनिक सूचना जारी नगरेका र निर्वाचन समिति राखेपले नै बनाउने पर्ने जिकिर गर्दै सदस्य सचिव सिलवालले असोज ३ र ४ मा निर्वाचन रोक्न स्वतन्त्र समितिलाई मौखिक निर्देशन दिएका थिए । ३९ जिल्ला र ६ प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । आईसीसीको अगामी बोर्ड बैठक असोज २६ गते बस्दै छ । तर, बैठकको एजेन्डा असोज १५ गते नै तय हुनेछ । सोही कारण असोज १५ अगाडि केन्द्रीय निर्वाचन सकेर प्रतिवेदन आईसीसीमा बुझाउनुपर्ने बाध्यता स्वतन्त्र कमिटीलाई छ । असोजको दोस्रो साताभित्र निर्वाचन सम्पन्न भएर सम्पूर्ण रिपोर्ट आईसीसीमा पुगेको अवस्थामा नेपाल क्रिकेटमाथि लागेको निलम्बन फुकुवा हुन सक्नेछ । सोही कारण असोजको दोस्रो साताभित्र निर्वाचन सक्नेगरी आईसीसीले नेपाल क्रिकेट विवाद समाधानको रोडम्याप तयार पारेको थियो ।
आईसीसीका डेपुटी प्रमुख इमरान ख्वाजाले जिल्ला र प्रदेशको निर्वाचन सभ्य तरिकाले सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अब केन्द्रीय निर्वाचनको अन्तिम चरणका रहेको बताए । ‘म राखेपलाई धन्यवाद दिन चहान्छु । जसले जिल्ला र प्रदेशको निर्वाचनलाई राजनैतिक हस्तक्षेपबिना सहजै सम्पन्न गराएको छ । यसले आईसीसीमा सकरात्मक संकेत देखाएको छ । अब केन्द्रीय निर्वाचन भए नेपालको निलम्बन फुकुवा हुने छ ।’ ख्वाजाले भने ।