काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी १३औं संस्करणको काठमाडौं म्याराथन पुसमा हुने भएको छ । यस आयोजक प्रो स्पोर्ट्स प्रालिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौं म्याराथनको १३औं संस्करण ५ पुस (डिसेम्बर २१) मा हुने जानकारी गराएको हो ।
प्रो स्पोटर््सले यसअघि दसैंअघि आयोजना गर्दै आएको म्याराथन यसपटक केही ढिला गरी आयोजना गर्न लागिएको प्रो
स्पोटर््सकी कार्यकारी निर्देशक बागमती राईले जानकारी गराइन् । काठमाडौं म्याराथनमा महिला÷पुरुष म्याराथान, हाफ म्याराथन, कर्पोरेट रिले, ५ किलोमिटर खुला दौड, ५ किलोमिटर छात्रछात्रा दौड, ३ किलोमिटर ह्विलचियर दौड रहेको छ । यसपटक पहिलो पटक युवालाई लक्षित गर्दै फेमेलीरन पनि समावेश छ ।
‘पछिल्लो १२ वर्षदेखि काठमाडौं म्याराथन आयोजना गर्दै काठमाडौं सहरलाई म्याराथनमार्फत विश्वसामु चिनाउने उद्देश्य लिएको छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ । त्यसलाई टेवा पुग्ने हेतुले पनि हामीले त्यसको पूर्वसन्ध्यामा म्याराथन आयोजना गर्न लागेका हौं,’ काठमाडौं म्याराथन आयोजकका प्रमुख निलेन्द्रराज श्रेष्ठले भने ‘पयर्टन आगमनका हिसाबले डिसेम्बरलाई अफ सिजन मानिन्छ । अफ सिजनमा पनि म्याराथनमार्फत विदेशीलाई नेपाल ल्याउन सकियोस् भन्ने उद्देश्यका साथ यसपटक केही महिनापछि म्याराथन आयोजना गर्न लागेका हौं ।’
विदेशी धावकलाई भित्राउनका लागि युरोप, अमेरिका, जापान, भारतलगायतका देशमा एजेन्टमार्फत प्रचार सुरु गरिएको बताइएको छ । ५ सयभन्दा बढी विदेशीको सहभागिता रहने अपेक्षा रहेको श्रेष्ठले बताए । मंगलबार नै काठमाडौं म्याराथनका लागि प्रो स्पोटर््स र एयर लाइन्स पाटनर्सको रूपमा ड्रागन एयरसँग सम्झौता भएको छ । सम्झौताअनुसार ड्रागन एयरले १० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने ड्रायगन एयरकी कन्ट्री लिड जुना मलेखुले बताइन् । इसेवा पेमेन्ट पाटनर्स रहेको छ । डाइनिङ पार्क काठमाडौं म्याराथनको बेवरेज पाटनर्सको रूपमा रहेको छ । म्याराथनकी अघिल्लो संस्करणकी महिलातर्फकी विजेता कान्छिमाया कोजुले काठमाडौं म्याराथनले अघिल्लो वर्ष नै मिति तोक्ने भएकाले तयारीका लागि समय प्राप्त हुने बताइन् ।