साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर तोलामा ७२ हजार ५ सय रूपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । यसअघि प्रतितोला ७१ हजार ५ सय रूपैयाँसम्म पुगेको सुनको मूल्य केही समय घटेको थियो । आइतबार आएर पुनः सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तीज नजिकिँदै गर्दा सुनको भाउ उकालो लागेसँगै त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ ।
यसअघि साउन ३० मा तोलामा ७१ हजार ५ सयसम्म पुगेको थियो । त्यसपछि ७१ हजार पुगेको सुनको भाउ तोलाको ७१ हजार ३ सयमा कारोबार हुँदै आएको थियो ।
निरन्तरको भाउ वृद्धिले सुनचाँदी बजारमा सुन किन्नेको भन्दा बेच्नेको संख्या बढेको छ । लगातार सुनको मूल्य बढेपछि तीजको समयमा भीडभाड हुने न्यूरोडका सुन पसल सुनसान बनेका छन् ।
चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता सुनमा आकर्षित भएका हुन् । चीनको केन्द्रीय बैंकले यस अघिका वर्षमा डलरको सञ्चितीलाई प्राथमिकता दिने गरेको थियो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । अमेरिका र इरानबीचको तनाव थप बढेका कारण डलरको मूल्य पनि महँगिएको छ । सुनको मूल्यमा लगातार वृद्धि भएपछि बजारमा माग भने निकै घटेको छ ।