२०८३, ११ कार्तिक मंगलवार
×

अमेरिकी भिसा पाए सन्दीपले

1113 Shares

चार घण्टाअघि अमेरिकी दूतावासबाट भिसा नपाउँदा दुःखी भएका नेपाली राष्ट्रिय क्रिकेट सदस्य सन्दीप लामिछानेले भिसा पाएपछि दूतावासलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्।

मंगलबार बिहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले दिउँसो पुनः बोलाएर उनको पासपोर्ट र कागजात राखेर भिसा दिएको थियो। भिसा लागेको पासपोर्ट भने उनले दुई दिनपछि पाउनेछन्।

‘अन्तमा सबै समस्या समाधान भएका छन्,’ सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सहयोगका लागि अमेरिकी दूतावासलाई धन्यवाद छ भने सबै शुभचिन्तक र सम्बद्ध सबैलाई विशेष धन्यवाद छ।’

विश्वकै सबभन्दा ठूलो र आकर्षक भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई सिजन लगातार खेल्नुका साथै क्यारेबियन प्रिमियर लिग (सिपिएल), अस्ट्रेलियाको बिग बास, बङ्गलादेशको बिपिएल र क्यानडाको ग्लोबल ट्वान्टी–२० लगायत संसारका सबै ठूला प्रतियोगिताको हिस्सा बनिसकेका सन्दीपलाई मंगलबार अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको थियो।

सन्दीप क्यानडामा सम्पन्न ग्लोबल ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सकेर आइतबारमात्र नेपाल फर्किएका थिए। लगत्तै सिपिएल खेल्न क्यारेबियन टापुहरूका साथै अमेरिकाको समेत भ्रमण गर्नुपर्ने भएकाले उनले अमेरिकाको भिसा आवेदन दिएका थिए। यसपालि क्यारेबियन प्रिमियर लिगका केही खेल अमेरिकामा हुन्छ।

तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेको थियो। यसअघि पनि विभिन्न खेलमा थुप्रै नेपाली खेलाडीको भिसा आवेदन अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान तथा युरोपका विभिन्न देशले अस्वीकार गरेका थिए।

सन्दीपले बिहान ट्ीवटरमार्फत् आफूलाई अमेरिकी राजदूतावासबाट भिसा दिन अस्वीकार गरिएको जानकारी दिएका थिए। 
‘राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा मैले सन् २०१६ यता विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गर्दै आएको छु। भिसा अस्वीकृत भएकोमा म एकदमै अचम्भित भएको छु,’ सन्दीपले लेखेका थिए।

उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय, हेल्लो सरकार, सिपिएल लगायतलाई मेन्सन गर्दै ट्विट गरेका छन्। ‘यो सबै देखेर म हाँसिरहेको थिएँ। शव्दविहीन भएँ। आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि अस्वीकृत हुनु अचम्म छ,’ उनले लेखेका थिए, ‘एक खेलाडीका रूपमा सिपिएलमा सहभागी हुन अब कठिन बन्दैछ।

हेल्लो सरकारले सन्दीपको ट्ीवटमा जवाफ फर्काउँदै लेखेको थियो– ‘तपाईंको गुनासो हेल्लो सरकारमा दर्ता गरी सम्बन्धित निकायमा पठाइएको छ। धन्यवाद।’

गत सिजन सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सबाट खेलेका सन्दीपले पाँच खेलमा सात विकेट लिएका थिए। यो सिजनका लागि सन्दीप बार्बाडोस ट्रिडेन्ट्ससँग अनुबन्ध भएका छन्।

प्रतिक्रिया