द्वारिका नेपाल, असार २४ ।
आई सी सी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड बीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार दिनको सवा ३ बजे बेलायतको म्यानचेस्टरमा सुरु हुनेछ ।
प्रतियोगितामा भारत १५ अङ्कसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने न्युजिल्याण्ड पाकिस्तानले बंगलादेशलाई पराजित गरेपछि नेट रनरेटका आधारमा चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल तालिकाको नियमअनुसार पहिलो र चौथो स्थानमा रहने टोली बीच पहिलो सेमिफाइनल हुन लागेको हो । भारत र न्युजिल्याण्ड बीच अहिलेसम्म भएका ५ खेलमध्ये हेड टु हेडका आधारमा भारतले तीनपटक विजय हासिल गरेको छ भने एक पटक न्युजिल्याण्डले जितेको छ । एक खेल भने अनिर्णित भएको छ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । दोस्रो सेमिफाइनलमा दोस्रो स्थानमा रहेको अस्ट्रेलिया र तेस्रो स्थानमा रहेको आयोजक इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार दिनको सवा ३ बजे ब्रिमिङ्घममा हुनेछ ।