काठमाडौं। एसीसी अण्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गरेको छ । रित गौतमको शतक र खडक बहादुर बोहराको ९० रन र कुशल मल्लको अलराउण्ड प्रदर्शनपछि नेपालले यो शानदार जीत हात पारेको हो ।
मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन बनाएको थियो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले ९२ रनको साझेदारी गरे । सर्राफ ४१ बल खलेर ४५ रनको स्कोरमा आउट भएपछि आएका खडकबहादुर बोहोराले गौतमसँग मिलेर टिमको स्कोर २२३ रन पुर्याए । बोहोराले ९० बल खेलेर ९० नै रन बनाए । सर्राफले १० चौका र बोहराले १२ चौका हाने ।
बोहोरा आउट भएपछि आएका विशाल बिक्रम केसी र कप्तान रोहित कुमार पौडेल भने चल्न सकेनन् । केसी मात्रै १ रनमा आउट भए भने कप्तान पौडेलले पनि ९ रन मात्र जोड्न सके । छैटौं ब्याट्सम्यानको रुपमा आएका कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै नेपालको रनलाई माथि पुर्याए ।
मल्लले ५ छक्का र ४ चौकाको मद्दतका २३ बलमै अर्धशतक बनाए । उननले ५१ रनको इनिङ खेल्दै नटआउट रहे । १३७ बलमा ११५ रन बनाएका ओपनर रित गौतम पनि नटआउट रहे । उनले १० चौका र १ छक्का हाने । सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र विनित चित्तेश मेहताले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३९.२ ओभरमा १०९ रनको स्कोरमा अलआउट भयो । सिंगापुरका लागि हरि कुकरेजाले ३०, कन्नुसामी सतिशले २४ र चन्द्रमौली श्रीदेवले २३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । नेपालका लागि कुशल मल्लले ४ विकेट लिए । तिलक राजभण्डारीले २, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।