काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको दोस्रो चरणको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
शिक्षा मन्त्रालयमा भएको छलफलमा चिकित्सा शिक्षा विधेयकको विषयमा सरकारले आफ्नो अडान कायम राख्दा दोश्रो बैठक पनि विना निष्कर्ष टुंगिएको हो ।
डा. केसीले अनशन तोडेर काठमाडौं आउनुपर्ने सरकारले प्रस्ताव गरेको थियो भने केसीका प्रतिनिधिले संसदमा दर्ता भएको विधेयक फिर्ता लिनुपर्ने माग राखेका थिए । तर, सरकारले अडान कायम गर्दा दोश्रो बैठकमा पनि सहमति नजुट्दा बैठक टुंगिएको थियो ।
वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सहभागी छन् । डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी छन् ।