जेन्सी । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्याण्डले प्रतियोगिताकै कमजोर टिम अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ओल्ड ट्याफोर्ड म्यान्चेस्टरमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ। आज हुने खेलमा इंग्ल्याण्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई जारी विश्वकपमा पहिलो जित निकाल्न ठूलै चूनौती परेको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले हारेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग ७ विकेटले र चौथो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित भएको थियो ।
यता, इंग्ल्याण्डले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो । तर आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग इंग्ल्यान्ड १४ रनले हारेको थियो । त्यसपछि बंगलादेशलाई १०६ रनले हराएको इंग्ल्याण्डले आफ्नो चौथो खेलमा वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।
इंग्ल्याण्डको ब्याटिङ र बलिङ उतिकै राम्रो छ । तर अफगानिस्तानको बलिङ उत्कृष्ट भएपनि ब्याटिङमा चल्न सकिरहेको छैन । आजको खेलमा इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान ज्यासन रोय भने टिममा उपस्थित हुने छैनन्। अघिल्लो खेलमा चोट लागेका कारण उनले आगामी दुई खेल गुमाएका छन् । यस्तै, कप्तान इयोन मोर्गनसमेत फिट नभएकाले अफगानस्तानविरुद्ध खेल्ने नखेल्ने निश्चित भएको छैन । यद्यपी उनले अफगानिस्तानविरुद्धको खेलका लागि टोली तयार रहेको बताएका छन् । अफगानिस्तानले इङ्ग्ल्याण्डको चोटबाट फाइदा उठाउन सके जीत निकाल्न सक्नेछ ।
अंक बिहिन अफ्गानिस्तान तालिकाको अन्तिम स्थानमा रहेको छ भने इंग्ल्याण्ड ६ अंकका साथ चौथो स्थानमा रहेको छ। इंग्ल्याण्ड आजको खेल जितेर तालिकाको शिर्ष स्थानमा उक्लने दाउमा हुनेछ भने अफ्गानिस्तान पनि जितको खाता खोल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।