लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज आयोजक इङ्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । प्रतियोगिताका सशक्त यी दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने निश्चित छ । आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग पराजित हुन पुगेपछि इङ्ल्यान्डले त्यसपछिको खेलमा बंगलादेशविरुद्व निक्कै सशक्त प्रदर्शन गरेको थियो ।
बंगलादेशविरुद्वको खेलमा इङ्ल्यान्ड ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निक्कै सशक्त देखिएको थियो । वेस्ट इन्डिजले पनि प्रतियोगितामा उस्तै सशक्त प्रदर्शन दिएको छ । वर्षाले अवरुद्व बनेको दक्षिण अफ्रिकाविरुद्वको आफ्नो पछिल्लो खेलमा पनि वेस्ट इन्डिजका बलरले सुरुवातमै विकेट लिएका थिए ।
वेस्ट इन्डिजका खेलाडी संलग्न खेल यत्तिकै पनि रोमाञ्चक बन्ने गरेको छ । त्यसमाथि पछिल्लो समय उच्च स्तरको क्रिकेट खेल्दै आइरहेको वेस्ट इन्डिज र आयोजक इङ्ल्यान्डबीचको खेल रोचक हुने अनुमान गरिएको हो ।
प्रतियोगितामा तीन खेल खेलेको इङ्ल्यान्ड चार अंकसहित चौथो स्थानमा रहेको छ । यस्तै तीन खेलबाट तीन अंक नै भएको वेस्ट इन्डिज अंकतालिकाको छैटौं स्थानमा छ । वर्षाले खेल अवरुद्व नभएको अवस्थामा यो खेलमा जित हात पार्दै अंकतालिकामा आफ्नो स्तर सुधार गर्न दुबै टोलीले प्रयास गर्ने छन् ।