आइसिसी एकदिवसीय विश्वकपमा भारतीय टोलीको पहिलो खेल कप्तान विराट कोहलीका लागि धेरै अर्थमा महत्वपूर्ण छ। एक खेलाडीका रुपमा कोहलीको यो तेस्रो विश्वकप हो। तर ह्याम्पसायर बाउलमा बुधबार दक्षिण अफ्रिकाविरुद्धको खेल भने विश्वकपमा कप्तानका रुपमा कोहलीको पहिलो हुनेछ।
राम्रो लयमा रहेको टोलीको नेतृत्व गरेका कप्तान कोहलीमाथि अरबौं भारतीय जनताको आशा र भरोसा छ। यता दक्षिण अफ्रिकालाई भने बलिङ आक्रमणको नेतृत्व गरेका डेल स्टेनको चोटले सताएको छ। साउथह्याम्पयनको पिच ‘फ्ल्याट’ हुने सम्भावना छ। दक्षिण अफ्रिकी ब्याट्सम्यान स्पिन बलमा कमजोर भएका कारण भारतले कुलदीप यादव र युजभेन्द्र चहललाई ११ जनाको पहिलो रोजाईमा राख्न सक्छ।
यो विश्वकप कोहलीेका लागि एक ब्याट्सम्यानका रुपमा मात्र नभई कप्तानका रुपमा पनि कडा परिक्षा हुनेछ। विश्वकपलाई भारतीय टोलीको नेतृत्व महेन्द्रसिंह धोनीबाट कोहलीमा पूर्ण हस्तान्तरणको अवसर रुपमा पनि हेरिएको छ।
भारतीय टोलीमा केही खेलाडी यस्ता छन्, जसले एक्लै जुनसुकै बेला खेलको नतिजा उल्टाउन सक्ने क्षमता राख्छन्। कप्तान कोहली आफै त्यसको अग्रपंक्तिमा छन्। तर धेरैले २०११ मा विश्वकप जित्दा महेन्द्रसिंह धोनीले कप्तानका रुपमा खेलेको भूमिका विर्सेका छैनन्। उनले दबाबलाई कति सहजै व्यवस्थापन गरे भन्ने कुरा पनि सबैको मानसपटलमा ताजै छ। त्यतिबेला टोलमिा सचिन तेन्दुलकर, विरेन्द्र सेहवाग, युवराज सिंह, गौतम गाम्भिर, जाहिर खान र हरभजन सिंहजस्ता एक से एक अनुभवी खेलाडी थिए। उनीहरुसँगै मुनाफ पटेल, आशिष नेहरा, सुरेश रैना र यूवा खेलाडी विराट कोहली टोलीमा थिए।
अहिले पनि भारतीय टोलीमा पूर्व कप्तान धोनीको भूमिका कम छैन। कोहली कप्तान भए पनि धोनी अभिभावकको हैसियतमा छन्। भारतले पछिल्ला ९ मध्ये भारत ६ खेलमा विजयी नतिजा निकालेको छ। भारतले विश्वकपमा बलियो टोली बनाउन पछिल्ला २ वर्षदेखी तयारी गरेको थियो। २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएदेखि नै भारत टोली निर्माणमा लागेको थियो।
विश्वकपमा सहभागी सबै टोलीले दुई खेल खेलिसकेको अवस्थामा भारतले पहिलो खेल खेल्दैछ। त्यसकारण भारतले प्रशस्त आराम पाएको छ। प्रतियोगिताको पहिलो खेल जहिले पनि महत्वपूर्ण हुन्छ। भारत पहिलो खेल जित्दै प्रतियोगिताको उपाधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ। लगातार पहिलो दुई खेल हारेका कारण दक्षिण अफ्रिका पनि प्रतियोगितामा दमदार पुनरागमन गर्ने तयारीमा छ। तर पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको दक्षिण अफ्रिकालाई खेलाडीको चोटले सताएको छ। तिब्र गतिका बलर लुङगी एनगिडी ह्यामस्ट्रिङको चोटबाट गुज्रिएका छन् भने डेल स्टेन पनि चोटका कारण मैदान बाहिर छन्।
भारतीय टोलीको अवस्था
कप्तान विराट कोहलीले स्पिनरद्धय कुलदीप यादव र युजभेन्द्र चहललाई टोलीमा राख्छन् या तिब्र गतिको आक्रमणलाई थप मजबुत बनाउन भुवनेश्वर कुमारलाई थप्छन् भन्ने कौतुहल भारतीय टोलीमा अझै छ। तिब्र गतिको आक्रमणका लागि जसप्रित बुमराह र मोहम्मद सामी कोहलीको पहिलो रोजाइमा पर्न सक्छन्।
दक्षिण अफ्रिकी ब्याट्सम्यान स्पिनरसँग खेल्न कमजोर देखिएका कारण कोहलीले कुलदीप र चहललाई राख्ने सम्भावना बलियो छ। दक्षिण अफ्रिकाविरुद्ध चहल र कुलदीप दुवै सफल हुदै आएका छन्। गत वर्ष सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा कुलदीपले ६ खेलमा १७ विकेट लिएका थिए भने चहलले पनि समान खेलबाट १६ विकेट लिएका थिए।
दक्षिण अफ्रिकी टोलीको अवस्था
पहिलो खेलमा आयोजक इङ्ल्यान्डविरुद्ध पराजित भएको दक्षिण अफ्रिका बंगलादेशसँग पनि पराजित भएपछि संकटमा छ। त्यसमाथि ३५ वर्षे स्टेन र ब्याट्सम्यान हसिम अमला पूर्ण रुपमा फिट छैनन्। तथापी दुवै जनाले अघिल्लो दिन अभ्यास गरेकाले खेल्ने सम्भावना नकार्न भने सकिदैन। अमलाले नेटमा १ घण्टाभन्दा बढि अभ्यास गरेका थिए भने स्टेनले ३० मिनेटभन्दा बढि समय बलिङ गरेका थिए।