एजेन्सी । विश्वकपमा भारतले आफ्नो पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्दैछ। तर आफ्नो पहिलो म्याच खेल्न भन्दा पहिला नै भारतीय टिम विवादमा फसेको छ। सोमबार भारतीय टिमले पत्रकार सम्मेलन आयोजना गरेको थियो। तर पूर्व निर्धारित कार्यक्रममा पनि भारतीय टोलीले आफ्ना खेलाडी नपठाएपछि पत्रकारले पत्रकार सम्मेलन नै बहिष्कार गरे।
जब देखि विराट कोहली भारतीय क्रिकेट टोलीका कप्तान बने, त्यसबेला देखि मिडिया र भारतीय टिमबीचको सम्बन्ध सुमधुर छैन्। कोहलीको कप्तानी पछि मिडियाबाट भारतीय खेलाडीहरु टाढै रहन्छन्। यस्तै सोमबार पनि भएको छ। विश्वकपको बेला आइसिसीको परम्परा अनुसार प्रत्येक साँझ टोलीले आफ्नो तयारी तथा दिनभरको क्रियाकलापबारे जानकारी दिन आधिकारिक खेलाडी या प्रशिक्षकहरुले मिडियासँग साक्षात्कार गर्नुपर्छ।
तर, १० दिनअघि नै विश्वकपका लागि इंग्ल्याण्ड पुगेको भारतीय टोलीले भने अहिले सम्म एकचोटीमात्रै मिडियासँग कुराकानी गरेको छ। बंगलादेशविरुद्धको वार्मअप खेलमा शतक प्रहार गरेका केएल राहुलले मिडियासँग कुरा गरेका थिए। त्यसपछि भारतीय टोलीले चार अभ्यास सेशन गरेपनि त्यसबारे जानकारी गराउँन कुनै खेलाडी वा प्रशिक्षकलाई निर्धारित पत्रकार सम्मेलनमा पठाएन्।
सोमबार अभ्यासपछि भारतीय टोलीका खेलाडीले मिडियासँग कुरा गर्ने जानकारी दिएको थियो। खबर अनुसार मिडिया कर्मीहरु पनि विश्वकप खेल्ने खेलाडी वा प्रशिक्षकहरुसँग साक्षात्कार गर्न पाइने भन्दै पत्रकार सम्मेलनमा पुगेका थिए। तर टोलिले पत्रकार सम्मेलनमा दीपक चाहर र आवेश खानलाई पठायो। जब कि उनीहरु विश्वकप खेल्ने भारतीय १५ जनाको टोलीमा नै छैनन्। उनीहरुलाई अभ्यास शत्रका लागि मात्रै टोलीसँग लण्डन ल्याइएको हो।
मिडियाकर्मीहरुले भने यस कुरामा असुन्तुष्टि जनाउँदै विश्वकप खेल्ने १५ जना खेलाडी या प्रशिक्षकमध्ये कोही हुनुपर्ने बताए। तर, बिसीसीआइका अधिकारीहरुले खेलाडीहरुले विश्वकपको खेल नै नखेली केही नबोल्ने बताएपछि पत्रकारहरु दीपक र आवेशसँग पनि कुरा नगरि पत्रकार सम्मेलन नै वहिष्कार गरेका निस्केका थिए।