एकदिवसीय विश्वकपको उपाधि कसले जित्ला? क्रिकेटको जननी इङ्ल्यान्ड र वेल्समा आजदेखि विश्वकप सुरु हुन लाग्दा विश्वभरका करोडौं क्रिकेटप्रेमी यही प्रश्नको उत्तर अनुमान गरिरहेका छन्। विश्व क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिता हरेक चार वर्षको अन्तरमा हुँदा समर्थकले नियमित रूपमा व्यक्त गर्ने चासो हो यो, कसले जित्ला त?
इङल्यान्डबाटै १९७५ मा सुरु भएको विश्वकपले १२औं संस्करणको यात्रा थाल्न खोज्दा पाँचौं पटक बेलायत फर्किएको छ। १९७५, १९७९ र १९८३ मा लगातार तीन पटक विश्वकप आयोजना गरेको इङल्यान्डले १९९९ को संस्करणका लागि पनि शीर्ष टोलीहरूलाई आतिथ्य प्रदान गरेको थियो। सुरूका दुई संस्करणमा वेस्ट इन्डिजले उपाधि जितेको थियो भने १९८३ मा भारतले बाजी मारेको थियो। इङल्यान्डले पछिल्लो पटक १९९९मा विश्वकप आयोजना गर्दा अस्ट्रेलिया च्याम्पियन भएको थियो।
कुनै पनि खेलको नतिजामा घरेलु मैदान, समर्थक र वातावरणले ठूलो प्रभाव पार्न सक्छन्। त्यसैले आयोजक इङल्यान्डलाई स्वभाविक दाबेदारको रुपमा लिन सकिन्छ। साथमा पछिल्लो समय उच्च फर्ममा रहेको कारण पनि इङल्यान्ड उपाधिको मुख्य दाबेदार हो। आइसिसी एकदिवसीय टिम वरियताको शीर्ष स्थानमा रहेर घरमा खेल्न पाउनु आसन्न विश्वकपमा इङल्यान्डको सबभन्दा ठूलो फाइदा हुनेछ।
इङल्यान्डमा भएका पछिल्ला विश्वकपको नतिजा हेर्ने हो भने वेस्ट इन्डिजलाई पनि दाबेदारको सूचीमा राख्न हिच्किचाउनु पर्दैन। तर लोकप्रियताको हिसाबमा सबभन्दा सम्वृद्ध संस्कार भएको भारत, विश्वकपको सबभन्दा सफल टोली अस्ट्रेलिया, उपाधि जित्न नसके पनि सधै उच्च स्तरको प्रदर्शन गर्दै आएका दक्षिण अफ्रिका र न्युजिल्यान्ड, आश्चर्यजनक टोलीको छवि बनाएको पाकिस्तान मध्ये कसैले विश्वकपप जित्ने आशामा क्रिकेटप्रेमीहरू आउँदो ४६ दिन प्रत्येक बल र ओभरलाई नियाल्ने छन्।
२००७ र २०१५ मा अस्ट्रेलिया जस्तै यसपाली इङल्यान्डलाई उपाधिको मुख्य दावेदारका रूपमा पण्डितहरूले लिएका छन्। चर्चित क्रिकेट कमेन्टेटर हर्शा भोग्लेको विचारमा यसपाली इङल्यान्डलाई हराउन सक्ने कुनै टिम छैनन्। ‘उनीहरूको टिमका सबै खेलाडीको क्षमता र पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने इङल्यान्ड निर्विवाद दाबेदार हो।
इयोन मोर्गान, जेसन रोए, जोए रुट, जोनी बेरिस्टो, जेम्स भिन्से, जोस बटलर, बेन स्टोक्स, क्रिस ओक्स, टम कुरान, लियाम डसन, जोफ्रा आर्चर, लियाम प्लङकेट, एडिल रसिद र मार्क उडजस्ता नाम विश्वभरका सबै टिममाथि हावी हुने क्षमता राख्छन्। ४ सय रनको योगफल बनाउन वा त्यो आँकडाको लक्ष्य पछ्याउन इङल्यान्ड सक्षम टिम हो,’ उनले भने, ‘इङल्यान्डको वर्तमान टिममा खेलाडीहरूको स्वभाव एक दिवसीयका लागि सुहाउँदो छ। साथमा उनीहरूका कप्तान र प्रशिक्षक जितको मुख्य प्रेरणा स्रोत बन्न सक्छन्। साना मानिएका टिमले पहिलो चरणमा समिकरणमा फेरबदल ल्याउन सक्छन्। त्यसबाट जोगिन भने दाबेदारहरूलाई जरूरी हुनेछ।’
भोग्लेले भनेजस्तै पछिल्लो समय उच्च फर्ममा रहेको इङल्यान्डले २०१६ यता खेलेका ३७ एक दिवसीय अन्तर्राष्ट्रियमा २९ जित हासिल गरेको छ। घरेलु मौसममा हुने विश्वकपमा टोलीका लागि प्रेरणाको स्रोत बन्न सक्छ।
विश्वकप खेल्ने बाँकी सबै देशको कुल जनसंख्याभन्दा धेरै बढि क्रिकेट समर्थक रहेको भारत विश्वकपको अर्को मुख्य दाबेदार हो। हजारौंको संख्यामा रहेका स्तरीय प्रतिभाहरूको पिरामिडबाट छानिएका स्टार खेलाडीको टोलीबाट विश्व क्रिकेटमा सधै ठूलो आशा राखिन्छ। भनिन्छ, भारतीयको रगतमै क्रिकेट बग्छ। त्यसैले भारतीय समर्थकहरूको पूरा ध्यान आसन्न विश्वकपभर इङल्यान्डमै हुनेछ।
१ अर्ब ४० करोडको हाराहारीमा जनसंख्या भएको भारतको अर्थतन्त्र पनि ठूलो छ र त्यो क्रिकेटमैत्री छ। त्यसैले भारतमा क्रिकेटका ठूल्ठुला गतिविधिहरू भइरहन्छन्। भरखरै सम्पन्न आइपिएलमा पनि भारतीय खेलाडीहरूको प्रदर्शन प्रभावशाली थियो। आइपिएलमा प्रहार गरेका चौका र छक्काले भारतीय समर्थकलाई विश्वकपप्रति आशावादी बनाउन सक्छ, तर ट्वान्टी–२० खेलको स्वभाव र एक दिवसीयको प्रकृति तथा भारत र इङल्यान्डबीचको फरकले त्यसमा प्रभाव पार्ने पण्डितहरू बताउँछन्।
बल टेम्परिङ घटनापछि अस्ट्रेलियाको क्रिकेट समस्यामा छ। तर विश्वकपका लागि उक्त घटनाका दोषी खेलाडीहरू टिममा फर्किइसकेका छन्। सधैको दाबेदार छवि अस्ट्रेलियाको अर्को फाइदाजनक पक्ष हो। तर यसपाली उपाधि जित्न त्यो पर्याप्त हुने छैन।
खेललाई विश्वव्यापी गर्ने नारा फलाक्न थाले पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले त्यो नाराको ठिक विपरित भावनामा यसपाली विश्वकप आयोजना गर्दैछ। खेललाई विस्तार गर्ने भनिए पनि कुनै बेला १६ टोलीले खेल्ने विश्वकप १० टोलीमा खुम्च्याएर गरिँदैछ। यसले खेलको लोकप्रियता र सम्भावनामा पार्ने दीर्घकालिन प्रभाव आफ्नो ठाउँमा छ। साथमा यसपालीकै प्रतियोगितालाई पनि थोरै टोलीको सहभागिताले अनुमान गर्न कठिन बनाइदिएको छ। थोरै टिम सहभागि भएकाले प्रतियोगिताको पहिलो चरणमा सबै टिमले एक–अर्काविरूद्ध राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गर्नुपर्छ। जहाँ कुल ४८ खेलको प्रतियोगिताले क्लाइमेक्स लिनुअघि पहिलो चरणमै ४५ खेल हुनेछन्।
भारतका कप्तान विराट कोहली यसपाली पहिलो चरणमा सबैसँग खेल्नुपर्ने भएकाले दाबेदारहरूलाई चुनौती थपिएको बताउँछन्। विश्वकपपका लागि इङल्यान्ड उडनुअघि उनले आफूहरू पूर्ण आत्मविश्वासका साथ विपक्षीको सामना गर्ने बताए पनि प्रतियोगिताको स्वरूप भने चुनौतीपूर्ण रहेको स्वीकारेका थिए।
भोग्ले र विराटको भनाइमा समानता खोज्ने हो भने पहिलो चरणमा धेरै खेल खेल्न पर्नु ठूला टोलीका लागि फाइदाजनक नहुन सक्छ। साना टिमसँग कुनै खेलमा अप्रत्यासित नतिजा आए शीर्ष चारमा रहेर अघिल्लो चरणलाई छानिन नै कठिन बन्न सक्छ। किनकि अफगानिस्तान र बंगलादेशजस्ता टिमले पनि पछिल्लो समय मैदानमा आफूलाई प्रमाणित गरिरहेका छन्। विश्व क्रिकेटमा जुनसुकै टिमलाई पनि आश्चर्यमा पार्न सक्ने क्षमता यिनीहरूमा छ। त्यसमाथि अनिश्चितताको खेल भनेर परिचित क्रिकेटको छविले साना टिमलाई नै फाइदा पुर्याउनेछ।
इङल्यान्ड र दक्षिण अफ्रिकाको भिडन्तसँगै आज दिउँसो नेपाली समयअनुसार सवा तीन बजे लन्डनमा सुरू हुने विश्व क्रिकेटको कुम्भमेलाले जुलाई १४ मा लन्डनमै आगामी चार वर्षका लागि नयाँ विश्व च्याम्पियन दिँदै बिदा लिनेछ।