२०८३, ११ कार्तिक मंगलवार
×

सन्दीपको अर्को छलाङ्, सीपीएलमा पाए ७८ लाख

1372 Shares

काठमाडौं । विश्वभरीकै फ्रेन्चाईज टि ट्वान्टी क्रिकेटमा आफ्नो प्रभुत्व कायम गरिरहेका नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानले दोस्रो पटक क्यारेबियन लिग खेल्ने पक्का भएको छ । बिहीबार लण्डनमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल टि २० को अक्सनमा उनी राउण्ड ५ परेर लिलामीमा महंगो मुल्य पाए ।

प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। सीपीएल टि२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।

अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर (करिब ७८ लाख नेपाली) पाउनेछन्। नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार रुपैयाँमा बिक्रि भएका हुन्। सीपीएल ड्राफ्ट अन्तर्ग सन्दिप पाँचौ चरणमा चुनिएका हुन्। सीपीएल ड्राफ्टमा कुल ५३६ जना खेलाडीहरु रहेका छन्।

सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो। बिग ब्यास लिगमा सन्दिपले ५५  हजार डलर पाएको अनुमान छ ।

इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि–२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि–२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

सन्दिपसंगै सीपीएल ड्राफ्टमा सोमपाल कामि, दिपेन्द्र ऐरी र रोहित पौडेल पनि रहेका छन् जसलाई हालसम्म कुनै टिमले लिएको छैन। ४ जना नेपाली खेलाडी सीपीएल ड्राफ्टमा परेको यो नै पहिलो पटक हो।सन्दिप बाहेक अन्य नेपाली खेलाडीहरु हालसम्म विदेशी लिग खेल्न छनौट भएका छैनन्।

सीपीएल टि(२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो।
यो सिजन क्यारेबियन प्रिमियर लिग अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा आयोजना हुने  छ।

बार्बाडोस ट्रिडेन्टस टिममा सन्दिपसंगै जेसन होल्डर, एलेक्स हेल्स, आसिफ अलि, वाहब रियाज, जोनाथन चार्ल्स, शाही होप, एशले नर्स जस्ता खेलाडीहरु रहेका छन्।

सीपीएल टि(२० मा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोससंगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।

प्रतिक्रिया