काठमाडौं – चार वर्ष लगाएर पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भत्काउनु पर्ने भएको छ। कन्स्ट्रक्सनले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेपछि टेकु-कालिमाटी पुल भत्काउनु पर्ने भएको हो । त्यस्तै तिनकुनेको पुलमा समस्या देखिएको छ ।
मंगलबार संघीय संसद्को विकास तथा प्रविधि समितिमा जवाफ दिँदै मन्त्री महासेठले पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको दुवै पुलमा सरकारी प्राविधिकलाई छलेर गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको बताए । गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएपछि रोक्न निर्देशन दिँदा पनि प्राविधिक नै नराखी ढलान गरेको पनि बैठकमा मन्त्री महासेठले बताए ।
प्राविधिकले टेकु पुल निर्माण रोक्न निर्देशन दिँदा पनि ठेकेदारले अटेर गरी काम गरिरहेको मन्त्री महासेठले सुनाए । ‘हामीले पुल निर्माण रोक्न लिखित रुपमा निर्देशन दिएका थियौं। तर, उहाँहरुले त्यो निर्देशनलाई लत्याएर रातारात सरकारी प्राविधिक समेत नराखी पुल ढलान गर्नुभयो ।’ उनले भने, ‘राति काम गर्नु अन्यथा नभए पनि प्राविधिकको उपस्थितिविना काम हुनु गलत हो ।’
त्यस्तै, तिनकुने पुलमा स्ट्रक्चर उठाउन आवश्यक गहिराइमा नपुर्याई निर्माणको काम अघि बढाइएको भेटिएकाले तत्कालका लागि काम रोकिएको मन्त्रीले बताए । दुवै पुल निर्माणमा प्राविधिकको भने कुनै गल्ती नभेटिएको मन्त्रीको दाबी छ ।
बिग्रिएको पुल भत्काएर पप्पुले आफ्नै लगानीमा निर्माण गनुपर्ने
अब बिग्रिएको पुल भत्काएर पप्पुले आफ्नै लगानीमा निर्माण गनुपर्ने उनले बताए। त्यसका लागि कानुनी प्रकृया समेत अघि बढाएको उनले बताए । पुलमा देखिएका कमजोरीबारे इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट अध्ययनसमेत भइरहेको छ ।
निर्माण सम्पन्न भएको टेकु(कालिमाटी पुल अत्यन्तै कमजोर पाइएकाले सरकारले नै संचालनमा रोक लगाएको छ। बनिसकेको ६२ मिटर लामो पुलमा गाडी गुडाउन निषेध गरिएको छ।
सडक विभागले महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई जतिसुकै बेला भत्कन सक्ने भन्दै संचालनमा रोक लगाउन पत्राचार गरेको थियो।
एसियाली विकास बैक ९एडिबी० को २० करोड १३ लाख ऋण सहयोगमा पुल निर्माण गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागको काठमाडौं दिगो शहरी यातायात आयोजनाले २०७१ को असारमा पप्पु कन्स्ट्रक्सनसँग पुल निर्माण सम्झौता भएको थियो। सम्झैता अनुसार कन्स्ट्रक्सनले २०७४ मंसिरमा सम्पन्न गरिसक्नु पर्ने थियो । तर कम्पनीले एक वर्ष ढिला गरी काम सकेको थियो।