लण्डन। ब्रिटिश एयरवेजको एक विमानले लण्डनको सिटी एयरपोर्टबाट जर्मनीको डसेलडर्फ एयरपोर्टको लागि उडान भर्यो । तर, त्यो विमान १२०० किलोमिटर टाढा स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्यो । अधिकारीहरुले सोमबार बताए अनुसार कागजी कार्यवाहीमा भएको गल्तीले यो घटना भएको हो । यात्रीले त विमान ल्याण्ड भएपछि ‘वेलकम टु एडिनबर्ग’ घोषणा भएपछि मात्र यसबारे जानकारी पाएका थिए ।

ब्रिटिश एयरवेजका अधिकारीका अनुसार त्यसपछि विमानलाई पुनः फर्काएर डसेलडर्फ पठाइयो । ब्रिटिश एयरवेजले यात्रीहरुसँग माफी मागेको जनाएको छ । एयरवेजले उडानमा समस्यामा परेका हरेक यात्रुलाई व्यक्तिगत रुपमा सम्पर्क गरिरहेको जनाएको छ । एयरवेजका अनुसार पाइलट कुनै पनि ठाउँमा झुक्किएका होइनन् तर एडिनबर्गमा कागजी कारवाहीमा भएको गल्तीका कारण एयर ट्राफिक कन्ट्रोलले पाइलटलाई त्यो रुटमा जान भनेको थियो । लण्डनबाट डसेलडर्फका लागि उडेका २४ वर्षीय सोफी कुकले भनिन् ‘जब पाइलटले एडिनबर्गमा ल्याण्ड गरेको घोषणा गरे, हामीलाई यो कुनै मजाक जस्तो लाग्यो । मैले केबिन क्रुसँग सोधेकी पनि थिएँ कि के तपाइँ मजाक गर्दै हुनुहुन्छ ?’