लन्डन — बेलायतमा नेपाली तथा गोर्खा समुदायको हित, सामाजिक एकता र सेवामूलक कार्यमा योगदान पुर्याउँदै आएको क्याम्बर्ली नेपाली गोर्खा एसोसिएसन (Camberley Nepalese Gurkha Association – CNGA) ले बेलायती राजा चार्ल्स तृतीयबाट प्रदान गरिने प्रतिष्ठित King’s Award for Voluntary Service 2026 प्राप्त गरेको छ।
बेलायतमा स्वयंसेवी संस्थाहरूलाई प्रदान गरिने यो अवार्डलाई कुनै स्वयंसेवी समूहले प्राप्त गर्न सक्ने सर्वोच्च राष्ट्रिय सम्मानका रूपमा लिइन्छ। यसको प्रतिष्ठा व्यक्तिगत रूपमा प्रदान गरिने MBE सम्मानसरह मानिन्छ। यसले समुदायको हितका लागि निःस्वार्थ भावनाले निरन्तर सेवा गर्ने स्वयंसेवक तथा संस्थाहरूको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्छ।
यो सम्मान प्राप्त गर्ने क्याम्बर्ली नेपाली गोर्खा एसोसिएसन सन् २०२६ का लागि सरे (Surrey) काउन्टीबाट छनोट भएका पाँच संस्थामध्ये एक हो। सरेबाट सम्मानित अन्य संस्थाहरूमा Age Concern Epsom & Ewell, Sunbury Ferry Ltd, Surplus to Supper Trust र Wey & Arun Canal Trust रहेका छन्।
बेलायती राजाको जन्मदिनको अवसर पारेर नोभेम्बर १४ मा सन् २०२६ का अवार्ड विजेता संस्थाहरूको नाम सार्वजनिक गरिएको थियो।
गोर्खा तथा नेपाली समुदायको सेवामा समर्पित संस्था
क्याम्बर्ली नेपाली गोर्खा एसोसिएसनले विशेषगरी स्थानीय क्षेत्रमा बसोबास गर्ने नेपाली तथा गोर्खा भूतपूर्व सैनिक र उनीहरूका परिवारको सामाजिक, सांस्कृतिक तथा शैक्षिक हितका लागि काम गर्दै आएको छ।
संस्थाको प्रमुख उद्देश्य भाषा, स्वास्थ्य अवस्था तथा उमेरका कारण समाजबाट टाढिन सक्ने ज्येष्ठ नागरिक, गोर्खा भूतपूर्व सैनिक र उनीहरूका परिवारलाई समुदायसँग जोड्नु हो।
संस्थाले अंग्रेजी भाषा सिकाइ, नेपाली भाषा तथा संस्कृतिको संरक्षण, सामाजिक गतिविधि, मनोरञ्जनात्मक कार्यक्रम र विभिन्न सामुदायिक सहयोगका माध्यमबाट नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता बलियो बनाउने प्रयास गर्दै आएको छ।
विशेषगरी बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका गोर्खा भूतपूर्व सैनिक तथा ज्येष्ठ नागरिकले भाषागत कठिनाइ, एक्लोपन र सामाजिक सहभागिताको अभाव सामना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै संस्थाले उनीहरूलाई समुदायसँग जोड्ने कामलाई प्राथमिकता दिएको छ।
नेपाली समुदायका लागि गौरवको उपलब्धि
बेलायतमा नेपाली समुदायको उपस्थिति र योगदान विस्तार हुँदै गएको अवस्थामा नेपाली संस्थाले बेलायतकै प्रतिष्ठित राष्ट्रिय सम्मान प्राप्त गर्नु सम्पूर्ण नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि हो।
यो सम्मान केवल एउटा संस्थाको सफलता मात्र नभई स्वयंसेवाको भावना, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको समर्पणको समेत कदर भएको रूपमा हेरिएको छ।
सरेका लर्ड लेफ्टिनेन्ट नीलम देवेशर एमबीईले सम्मान प्राप्त गर्ने पाँचवटै संस्थालाई बधाई दिँदै स्वयंसेवकहरूको मेहनत र समुदायमा उनीहरूले पुर्याएको योगदानको प्रशंसा गरेकी छन्। आगामी महिनाहरूमा स्थानीय स्तरमा अवार्ड हस्तान्तरण कार्यक्रमसमेत आयोजना गरिने अपेक्षा गरिएको छ।
गोर्खाली इतिहास, पहिचान र बलिदानसँग जोडिएको बेलायतमा नेपाली समुदायले सामाजिक सेवामार्फत प्राप्त गरेको यो सम्मानले नयाँ पुस्तालाई समेत समाजप्रति जिम्मेवार बन्न र स्वयंसेवाको भावनालाई निरन्तरता दिन प्रेरित गर्ने विश्वास गर्न सकिन्छ।
