२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

सुनचाँदी आयातमा अंकुश किन ?

1989 Shares
Spread the love

काम कुनै पनि सानो–ठूलो हुँदैन । नेपाली समाजमा कामलाई जातका रूपमा वर्गीकरण गर्ने संर्कीण सोच कायमै छ । यद्यपि यो घट्दो क्रममा छ । अहिले समय र चेतनास्तर परिवर्तन भएको छ । हरेकलाई आफूले रोजेको काम गर्न सक्ने वातावरण विकास हुँदै गएको छ । काठमाडौंमा २०२७ कात्तिक २६ मा जन्मिएका महेन्द्ररत्न शाक्य करिब १० वर्ष हुँदादेखि सुनचाँदी बनाउने पेसामा लागे । झन्डै ४० वर्षदेखि यही पेसामा उनी जुटेकै छन् । विभिन्न समय परिस्थितिसँगै सुनचाँदी व्यवसायीहरूको हक–हित र संरक्षणका लागि संगठन निर्माण गरियो । जसको नाम भने सुनचाँदी व्यवसायी महासंघ राखियो । उनी अहिले यसैको केन्द्रीय कोषाध्यक्ष छन् । काठमाडौं जिल्ला संघको भने उनी अध्यक्ष हुन् । व्यवसाय प्रगति, समस्या र योजनाका विषयमा केन्द्रित रही नेपाल संसारकर्मीले उनीसँग गरेको कुराकानी ।

सुनचाँदी व्यवसायीको अवस्था कस्तो छ ?

अवस्था अहिले पूर्ण सन्तोषजनक छैन । कानुनी दृष्टिकोणले नीति निर्माण गरिएको छ । तर, व्यवसायीहरूलाई अंकुश लगाउने र हक अधिकारभन्दा पनि दण्ड र कारबाही केन्द्रित गरिएको छ, जुन व्यवसायीहरूको पक्षमा छैन । पुरानै मुलुकी ऐनको अझै यथावत् छन् । राज्यको ध्यान यसतर्फ अझै पुगेको छैन । हामीले निरन्तर पहल गरेका छौं । प्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा राखेका छौं । तर, जति हुनुपर्ने हो त्यति काम भएको छैन । कतिपय कानुन निर्माण भएका छन् । केही नै नभएको भन्ने होइन, तर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण पाटोका रूपमा रहेको सुनचाँदी व्यवसायलाई राज्यले चिन्न सकेन । विभिन्न व्यवस्थामा मुलुक परिवर्तन भयो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र संघीयता आए, तर सुनचाँदी व्यवसायीलाई केहीले पनि छोएन । न देशको कानुन नीति नियमले नै । सुनचाँदी व्यापार व्यवसाय मात्र होइन, यो एउटा कला संस्कृति हो, देशको कला चिनाउने आधार पनि हो । विभिन्न परापूर्वकालदेखिका डिजाइन होस् वा कलात्मक ढंगबाट बुनेका बुट्टा यसले देशको पहिचान तथा संस्कृतिलाई टेवा पुर्‍याएको छ । राज्यको यसतर्फ ध्यान नजानु विडम्बना हो । यो पेसा र व्यवसाय सुरक्षित र व्यवस्थित बनाउन २०७३ को देवानी संहितामा केही व्यवस्था राखिएका छन् । तर, त्यो पर्याप्त छैन । हामी सुनचाँदी कानुन ऐन भनेर संसदमा दर्ता गराएका छौं । जबसम्म कानुनी रूपमा संरक्षण र संवर्द्धन गरिँदैन तबसम्म व्यवसायीको उत्थान पनि हुँदैन ।

समस्या कस्ता देखिएका छन् ?

नेपालभर करिब २२ हजार व्यवसायी आबद्ध छन् । नीतिगत रूपमै पहिलो समस्या भएर खडा भएको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका सुनचाँदी व्यवसायले वार्षिक करिब ८ अर्ब राजस्वरमा सहयोग पुर्‍याएको छ । सरकार त्यसलाई बेवास्ता गर्दै व्यवसायीलाई दुःख दिने र व्यवसायबाटै पलायन हुने स्थितिमा पुर्‍याएको छ । निर्यातको सम्भावना छ । सरकारले कुनै खाका बनाउन सकेको छैन । कारोबारको मापदण्ड दिन सकेको छैन, मापदण्डबिना अनुगमन गर्छ । परापूर्वकालदेखि गरिआएको पेसा व्यवसायमार्फत हामीलाई फसाउन खोजिन्छ । प्रतिस्पर्धात्मक रूपमा बजार चलाउन दिइएको छैन । बैंकको एकाधिकार कायमै छ । कोटा सिस्टमले मागअनुरूपको सुन पाइँदैन । सरकारले नै सिन्डिकेट लगाएको छ । व्यवासायीले सहज रूपमा सुन ल्याउन सक्ने अवस्था छैन । देशभर दिनको २० केजी मात्र भाग लगाउने स्थिति छ । त्यसको समीक्षा गर्नुको साटो एकाधिकार मात्र लगाएको छ । कच्चा पदार्थमा सहजता छैन । व्यवसायीलाई तस्करको दृष्टिले हेर्ने गरिन्छ । जनशक्तिको समस्या छ । दिनहुँ नेपाली युवा बिदेसिएका छन् । यो व्यवसायमा जनशक्ति नै छैन । ८० प्रतिशत विदेशी कामदार राख्नुपर्ने बाध्यता छ । सरकारले तालिम केन्द्र चलाउनेको कार्य गर्न सकेको छैन । छिमेकी देशहरूमा व्यवसायलाई सहता गराइराख्दा नेपालमा भने सिन्डिकेट लगाएर अवैध रुपमा सुन भित्र्याउने र काममा लाग्नाले हामी जस्ता व्यवसायी पीडामा परेका छौं । एकातिर समग्र सुन व्यवसायीलाई गलत दृष्टिकोणले हेरिन्छ । त्यसमा व्यक्तिको मात्र नभई देशकै इज्जतमा धब्बा लाग्ने काम भएका छन् । सीमित व्यक्तिले फाइदा लिँदा समग्र देश र हामी जस्ता इमानदारपूर्वक व्यावसाय चलाउने व्यवसायी पीडामा पर्ने अवस्था आएको छ । त्यसमा सरकारको समन्वय कमी देखिन्छ । सरकारले हात बाँधेर खान लगाउनु विकासको प्रमुख सुत्र बिर्सेको छ । यसतर्फ सरकार मौन छ । किन प्रतिस्पर्धा गराउन चाहँदैन सरकार, कला र मौलिकताको सवालमा नेपालको कलाको पहिचान बेग्लै छ ।

अवैध सुनचाँदी भिक्रने त्रम रोक्न महासंघको भूमिका के हुन्छ ?

वास्तवतामा कानुनी कारवाही गर्ने सवालमा हामीलाई त्यस्तो अधिकार छैन् ।तर समय समयमा सरकारी निकाय सँग अनुगमनमा सहयोग गर्ने गर्छौ । तर, जसरी अवैध रुपमा सुनचाँदी भित्रिएका छन् त्यसका यहाँका पुराना रैथाने व्यवसायी संलग्न छैनन् । सुन व्यवसायलाई व्यापारको मात्र थलो बनाउने, जसले हुन्डीको कारोबार गर्छन्, जसलाई सुन कला संस्कृतिसँग नाता छैन्, सुन घोट्न आउँदैन, जोख्न आउँदैन त्यस्ताले यस्ता अवैध कारोबार गरेको देखिन्छ । व्यापार र पैसाका लागि मात्र लागेका व्यत्ति यसमा संलग्न छन् । त्यसलाई सरकारले नियमन गर्ने प्रमुख भूमिका खेल्नुपर्छ ।

तपाईको कार्यकालमा कस्ता उपलब्धि हासिल गर्नुभयो ?

सर्वप्रथम मैले जसरी कानुनविहीनताको अवस्था छ त्यसलाई मध्यनजर गर्दै सुनचाँदी बहुउपयोगी पुस्तक निकालें । जसले यस क्षेत्रमा हुने र गर्नुपर्ने काममा अध्ययन गरी आउन प्रेरित गरेको छ । सुन सक्कली–नक्कली के कसरी छुट्याउने, घोट्ने तरिका के, तालिम केन्द्र कहाँ र कसरी लिने, मिसावट छ/छैन कसरी पहिचान गर्नेलगायत कुरा समेटिएका छन् । यो व्यवसाय बेच्ने मात्र नभई फिर्ता ल्याउने भएकाले त्यसरी कारोबार गर्नुपर्छ । कारोबार गर्ने जो कोहीलाई सदस्यता दिएको छैन । ६ महिना ट्रेनिङ लिएर आउनेलाई मात्र सदस्यता दिने नियम बनाएको छु । मापदण्डबिना चलाउन दिएका छैनौं । ‘सुनचाँदीमा लगानी भरपर्दो आम्दानी’लाई नाराकै रूपमा अगाडि बढाएको छु । युवाहरूलाई भित्र्याउने गरिएको छ । त्यसैअनुरूप केही दिनपछि फेसन सो कार्यक्रममा युवाहरूलाई सहभागी गराउँदै छु । जसमा हाम्रा मौलिक कलाका गरगहना प्रदर्शन गर्ने कार्यमा जुटेको छु ।

ग्राहक नठगिन कस्ता सावधानी अपनाउनुपर्ला ?

सबैभन्दा पहिले पसल कहिले र कसरी चलाइएको छ । उसको साख केहो ? विज्ञापनका भरमा राम्रो/नराम्रो छुट्टिदैन । स्थायित्व छ/छैन ? पे ब्याक हुन्छ/हुँदैन, ब्रान्डलाई पनि ध्यान दिनुपर्छ । यस्ता यावत कुरा ख्याल गर्दा राम्रो हुन्छ ।

सरकारले के गर्दा यहाँहरूलाई सहज होला ?

ज्वेलर्स क्षेत्रलाई प्रतिस्पर्धा रूपमा लैजान दिनुपर्‍यो । मापदण्ड नीति नियम ल्याउनुपर्‍यो । व्यवसायीलाई प्रयोगका रूपमा मात्र प्रयोग गरियो, त्यसको अन्त्य, अन्तर्राष्ट्रिय बजार क्षेत्रलाई ख्याल गर्नुपर्‍यो ।
संघका तर्फबाट सामाजिक कार्यहरू के–के गर्नुभएको छ ?
अवश्य पनि हामीले बारम्बार मठ मन्दिरका भएका गहना मर्मत सम्भार गर्ने, पालिस गर्ने, राज्यले बोलाएका बेला सुनको तौल गर्ने, कहिले न्यायलय, कहिले अख्तियारले चेकजाँच गराउँछ त्यो सबै निःशुल्क गराउँछौं । भूकम्पका बेला उद्धारदेखि खाद्य पुर्‍याउने, विभिन्न मठ मन्दिर बनाउने, नाकाबन्दीका बेला ढुकुटी खोलेर सहयोग गर्नेलगायत काम गरेका छौं ।

आगामी योजना के छन् ?

युवाहरूलाई जगाउने । यो क्षेत्रमा लगाउने । उनीहरूलाई तालिम दिएर देशमै केही गर्न सक्ने बनाउने । देशमै काम गर्ने व्यवस्था मिलाउने सोच छ । त्यस्तै महिलालाई निःशुल्क तालिम दिएका छौं । आगामी दिनमा समेत त्यसको व्यवस्थापनका लागि सरकारसँग सहयोग मागेका छौं । युवाहरूलाई अगाडि बढाउँछौं । बजार संक्रमण अन्त्य गर्ने, कलाको सम्मान गर्नेखालको व्यवसाय बनाउँछौं । केही घटना छन् कोही २ महिना पसल चलाउने केही समयपछि ग्राहक फिर्ता गर्न जाँदा रेस्टुरेन्ट भएको देखिने गरेका छन् । त्यस्ता व्यवसायीलाई निरुसाहित गर्नेलगायत कार्य गर्न बाँकी छन् ।

अन्त्यमा केही भन्नु छ कि ?

सुनचाँदी क्षेत्र उज्ज्वल छ । युवाहरूको प्रमुख भूमिका छ । त्यसमा सरकारले सुनचाँदी बजार संरक्षण एवं संवर्द्धन गर्दै गए देशको अर्थनीतिसँगै युवारोजगार बनाउने थलोका रूपमा स्थापित गर्न सक्छौं । यतातिर सबै लाग्नुपर्ने देखिन्छ । म लगायत केही साथी मिलेर व्यक्तिगत रूपमा समेत पर्यटन प्रवर्द्धनका लागि टेवा पुग्ने उद्देश्यअनुरूप ठमेलमा नेपाली मौलिक ढाँचाबाट बनेको सूर्य–मोहन प्रतिष्ठानका नाममा एउटा घर बनाउँदै छौं । जहाँ नेपाली मौलिक ढाँचामा कुदिएका कला मूर्तिहरूका साथै विभिन्न समुदायका परिकार खुवाउन सकिने व्यवस्थामा लागेका छौं । जसले विदेशी पर्यटकलाई नेपालको कला संस्कृतिबारे जानकारसँगै पर्यटक आगमनमा टेवा पुग्ने विश्वास लिएका छौं । त्यसबाट आएको रकमको १० प्रतिशत गुठीलाई दिने निर्णय बनाएका छौं ।

प्रतिक्रिया