फागुन २२- नेपालका धनाढ्य बिनोद चौधरी यस बर्ष पनि अर्बपतिहरूको सूचीमा परेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको रिपोर्टमा उनी अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा रहेका छन् । फोर्ब्स म्यागजिनले यस वर्ष पनि उनलाई मात्र नेपाली अर्बपतिका रूपमा सूचीकृत गरेको हो । उनको स्वामित्वमा १.७ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ।उनको व्यवसाय खाद्यपदार्थ, विद्युतीय सामग्री, बियर र होटलको क्षेत्रमा विभिन्न देशमा फैलिएको छ। ब्याङ्किङमा पनि उनको सहभागिता छ।

उनी सन् २०१३ देखि फोर्ब्सको सूचीमा पर्दै आएका छन्। ६३ वर्षीय चौधरीसँग सिजी कर्प ग्लोबल तथा नबिल बैंकको शेयरमा ठूलो हिस्सा छ । चौधरीको विद्युतीय उपकरण, खाद्य सामाग्री, बियर उत्पादन तथा होटलहरुमा समेत ठूलो लगानी रहेको छ । सिजीको विश्वका धेरै स्थानमा २९ वटा होटल तथा ७० वटा होटलको ब्यवस्थापन छ । चौधरीको सम्पत्ति अनिल अम्बानीसंग बराबर देखिएको छ । फोर्ब्सको सूचीमा भारतका घनाढ्य अनिल अम्बानी पनि १३४९ सूचीमा रहेका छन् । उनीसंग पनि १.७ अर्ब डलर सम्पत्ति देखिएको छ ।