कालिकञ्चोक दर्शन खुद नोक्सानीमा, बाढी पहिरोको असरले घट्यो आम्दानी
काठमाडौँ । कालिकञ्चोक दर्शन लिमिटेडको मुख्य व्यावसायिक आम्दानीमा गिरावट आएको छ भने खुद नोक्सानी (घाटा) बढेको देखिएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार पहिलाे त्रैमासमा ४५ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ३३ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनी नोक्सानीको मुख्य कारण यस वर्षको वर्षायाममा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा यसले पर्यटन आगमनमा पारेको प्रत्यक्ष नकारात्मक प्रभाव भएकाे वित्तीय विवरणमा उल्लेख छ । बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटकहरूको आवागमन घटेको र कम्पनीको केबलकार तथा अन्य व्यावसायिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन नसकेको व्यवस्थापनले जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेर ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिमा ७२ लाख ८७ हजार रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफातर्फ पनि कम्पनी ६३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२० रुपैयाँ ५६ पैसा कायम भएको छ ।
सूचना (Source Notice)
यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्