काठमाडौँ । वर्षायाम सुरुभएपछि सर्पदंशका घटना बढने गरेको पाइन्छ । नेपालमा अनुमानित आँकडा अनुसार हरेक वर्ष करिब २० हजार सर्पदंशका घटना हुने र त्यसमा करिब २ सय जनाले ज्यान गुमाउने अनुमान गरिएको छ ।
पूर्वका १० जिल्लाका अस्पतालहरूमा गरिएको एक अध्ययनले वर्षमा ४०७८ जनालाई सर्पले टोकेको, जसमा ३७९ लाई विषालु सर्पले टोकेको पाइएको थियो, जुन करिब ९% जति हुन आउँछ । त्यस्तै विषालु सर्पको टोकाइपछिको मृत्युदर करिब २१.३% देखिएको थियो । तर अहिले स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी महाशाखाका अनुसार सर्पदंशका घटनाबात मृत्यु हुनेको संख्या १० प्रतिशत रहेको छ । मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाई, औषधिको अभाव जस्ता कारण देखिएको छ ।
सर्पहरु पनि मेरुदण्ड भएका प्राणी अन्तर्गत पर्दछ । चोसो रगत भएका सर्पहरु सामान्य अवस्थामा पनि उपयुक्त वातावरण छानेर शरिरको तापक्रमलाई नियन्त्रित अर्थात सन्तुलनमा राख्छन । सर्पहरु मौसम जलवायु परिवर्तन र अन्य पर्यावरणीय अवस्थाप्रति संवेदनशील हुन्छन् । सर्पहरुले फोक्सोद्धारा श्वास प्रश्वास गर्दछन ।
संसारभरी ३४ सय भन्दा बढि प्रजातिमा पाइने सर्पहरु दक्षिण ध्रुबिय प्रदेश बाहेक सबै तिर पाइन्छ । कुनै प्रजातिका सर्प पानीमा पाइन्छन भने कुनै जमिनमा पाइन्छ । कुनै प्रजातिले फुल पार्दछन भने कुनै प्रजानतिले बच्चा जन्माउने गर्दछन । सबै सर्पको आहार भने अन्य प्राणीलाई निल्नु नै हो । सर्पले प्राकृतिक पारिस्थितिक प्रणाली र कृषि परिस्थितिक प्रणालीमा महत्वपुर्ण भुमिका खेलेका हुन्छन् ।
सर्पका धेरै प्रजातिहरु मानिसलाई हानी नगर्ने खालका छन् । धेरै प्रजातिको सर्पमा बिष हुदैन । सर्पले आहारलाई आफ्नो शरिरले बेरेर श्वासममा अवरोध गरेर मार्दछन, आहारलाई जमिनमा थिचेर मार्दछन वा जिउदै निल्छन । धेरै सर्पहरुले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकालेर आहारलाई लठ्याउने मार्ने र पाचन गर्नमा सहयोग पुर्याउदछन । साथै यस्तो रसले हानीकारक किटाणुको विरुद्धमा पनि काम गर्दछ । यसरी आफ्नो प्राकृतिक आहारलाई असक्त बनाइदिने वा मारिदिने मुखको ग्रन्थिबाट निश्कने यस्तो ग्रन्थिलाई वैज्ञानिक भाषामा बिष र ग्रन्थिलाई बिष ग्रन्थि भनिन्छ । यसरी निश्कने बिष ग्रन्थिको रसलाई आहारको लागि शरिरमा सजिलोसरुरुँग पुर्यादिने बिष उपकरणहरु हुन्छन् । यस प्रक्रियामा सर्पका विष दन्तहरुको विशेष भुमिका हुन्छ ।
सर्पका विष दन्तहरु यसरी बनेका हुन्छन :
मुखको माथिल्लो बंगारोमा अघिल्लोतिरको ठुला डुला दातहरु जसलाई विष दन्त भनिन्छ । एउटा विषबाहिनी नलीको प्रत्येक विष दन्तलाई टाउको दाँया बाँया र आँखाको पछाडि रहेको थ्रन्थिलाई जोडेको हुन्छ ।
विश्वभरका ७ सय भन्दा कम प्रजातिका सर्पहरुमा यस खालका विष उपकरणहरु हुन्छन, ती मध्ये एउटा सानो हिस्साले मात्र विशेष चिकित्सकीय महत्व राख्दछ ।
अहिलेसम्मको अभिलेखलाई हेर्दा नेपालमा ८९ प्रजातिका सर्पहरु भेटिएको छ । तर सर्पको सम्पुर्ण प्रजातिको संख्या भने अझै एकिन गर्न बाँकी नै छ । जिव विज्ञानको दृष्टिले नेपालको ठुलो भागमा अध्ययन भएकै छैन ।
नेपालमा पाइने सर्पहरु :
धेरै प्रकारका सर्प पाइने नेपालमा अहिले १७ प्रजातिका विषालु सर्प रहेको अनुमान छ । यी अति विषालु सर्पलाई २ समुहमा विभाजन गर्न सकिन्छ । गोमन, राजगोमन, करेत र मुगा सर्पहरु इलापिडी परिवारमा पर्दछन ।
नेपालमा बंगारस बंगारोइडस(पहाडी करेत), बंगारस सेरुलियस(चुरे सर्प), बंगारस लिभिडस(सानो कालो करेत), बंगारस नाइजर(ठुलो कालो करेत), बंगारस वाली(बैरी करेत), नाजानाजा (गोमन नाग), नाजा काओथिया (पनिया दराद), ओफियोफ्यागस हाना (राजगोमन,कालीनाग), साइनोमाइकुरस म्याक्लेल्यान्डी युनिभिरगाटस(मुगा सर्प कर्कट नाग),ड्यावोइया रसेली(बाघे सर्प), ग्लोइडियस हिमालयन(भ्याकुते सर्प )हिमालयोफिस तिबेतानस(हर्या सर्प), ओभोफिस मन्टीकोला(आँधो सर्प ) , प्रोटोबोथ्रोस प्रजनति, ट्राइमेरेसुरस सि. एस अल्बोल्याव्रीस (हर्यौ सर्प ) ट्राइमेरेसुरस सेप्टेनट्रियोनालीस (हर्यौ सर्प), लगायतका सर्प पाइन्छ । साथै नेपालमा मुखको पछाडिपट्टी लामो दाँत भएका प्रजाति सर्पहरु पनि पाइन्छ । सामान्यतया यस्ता सर्पहरुलाई कम खतरानक सर्पको रुपमा लिने गरिन्छ ।यसको पनि एक प्रजातिले भने मानिसलाई टोकेको खण्डमा विषका गम्भीर लक्षण देखिने सम्भावना रहेको देखिन्छ । चितवन लगायत तराईको केही ठाँउमा पाइने भएता पनि यसको खतरा त्यति देखिदैन ।
केही सर्पहरु विशेष गरी करेतको साना विष दन्त हुन्छन् । करेतले टोकेको ठाउमा देखिने गरेर डसाईको चिन्ह नहुने हुदाँ कति विष पसाएको छ भनेर पुर्व अनुमान लगाउन पनि सकिदैन । सुरुको केही घण्टा भित्र समस्या नदेखिएता पनि विषका लक्षणहरु जस्तैः श्वास प्रश्वास रोकिने जस्ता घातक परिणाम देखिने संभावना हुन्छ । त्यसैल सबै सर्पका डसाईहरुलाई शुरुमा विरामीमा कुनै पनि डसाईका लक्षण नदेखिए पनि अस्पतालमा विरामीलाई २४ घण्टासम्म अवलोकन तथा निगरानीमा राखिनु पर्दछ ।
सर्प डसाईका चिन्ह र लक्षणहरू :
जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केही लक्षणहरू: जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने आदी देखिन सक्छन् । त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केही माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसञ्चारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मर्ने पनि हुनसक्छ ।
विषका कारणले देखिने लक्षणहरू :
डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन ।
डसेको भाग दुख्ने, सुन्निने ।
घाउ हुने, रगत बग्ने ।
फोका उठ्ने, नीलडाम बस्ने ।
नजीकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने ।
पछि गएर डसेको ठाँउमा संक्रमण हुने, पाक्ने र अङ्ग नै कुहिने पनि हुन्छ । यस्तो विशेषगरी भाइपर र गोमनको डसाइमा हुने गर्छ ।