नारायण ढुङ्गाना, काठमाडौँ, २५ पुस
“हैन म जान्नँ, म यही बस्छु, बरु यतै मागेर खान्छु, मलाई यही तातो छ”, जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँडीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भन्नुभयो । नक्साल महादेवस्थान नजिकै सानो गल्लीमा सिरक बेरेर बसिरहेको अवस्थामा उहाँ भेटिनुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जाउँ हाम्रो घर भन्दा उहाँले मान्नुभएन । “म जान्नँ, मेरो आफ्नै घर छ, भोलि बिहान जान्छु,” ती महिलाले भन्नुभयो । उहाँले नटेरेपछि महिला प्रहरीले उहाँलाई जबर्जस्ती उठाएर लैजानुभयो ।
काठमाडौँको सङ्कटामा भेटिएकी अर्की महिलाले पनि सडकमै राम्रो भएको र यही मागेर खाने बताउनुभयो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले ‘मन नलागे भोलि आउनुहोला, आजचाहिँ जाउँ है’ भनेपछि अर्को दिन फर्कने शर्तमा उहाँ गाडीमा बस्नुभयो । म्याग्दी बेनीका सुवास सापकोटा मङ्गलबार राति सडकमा भेटिनुभयो । प्रहरीले फेला पारेर उद्धार गरिएका सापकोटा फाटेको लुगामा हुनुहुन्थ्यो । काम खोज्दा कसैले नदिएपछि सडकमा बस्न बाध्य भएको उहाँले दुखेसो पोख्नुभयो । यी विभिन्न उदाहरण हुन् । यसरी सडक, तथा मन्दिरका पेटीमा सुत्नेको सङ्ख्या काठमाडौँमा अत्यधिक छ । सडकमा यसरी रात बिताउँदै आएकाहरु सहजरूपमा सडक छाडेर जानै मान्दैनन् ।
चिसोका कारण काठमाडौँमा दुई जनाको अकालमा ज्यान गइसकेको छ । महानगरीय प्रहरी परिसरका अनुसार चिसोका कारण उनीहरुको स्वास्थ्य जोखिममा पर्ने भएकाले पनि सबै क्षेत्रका प्रहरीलाई असक्तहरुको अवस्थामा ध्यान दिन भनिएको छ । सडकमा बस्नेहरु सहजै जान नमान्ने भएकाले उनीहरुलाई जबर्जस्ती उठाउनुपर्ने अवस्था रहेको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्ताैला बताउनुहुन्छ । कतिपय अवस्थामा आश्रममा स्वयंसेवीले उठाउनै नसक्दा सडकमै छाड्नुपर्ने अवस्था रहेको अनुभव उहाँसँग छ । सडकमा जीवन गुजार्नुपर्ने बाध्यताको अन्त्यका लागि अहिले काठमाडौँमा सञ्चालन गरिएको अभियान मङ्गलबार राति पनि जारी रह्यो । मानवसेवा आश्रम, प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषलगायत सङ्घसंस्थाको सहकार्यमा सञ्चालन भएको उक्त अभियानका क्रममा गए राति मात्रै १३ जनाको उद्धार गरी आश्रममा राखिएको छ ।
यसअघि सोमबार राति उद्धार गरिएका ५० जनालाई पनि आश्रममै राखिएको छ । पछिल्लो एक सातामै सडकबाट ८० जनाको उद्धार भइसकेको छ । सडकमा अझ धेरै अलपत्र रहेकाले उनीहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ । सडकमा कतिपय वास्तविक पीडित भेटिएका छन् । धेरैजसो माग्ने पेशा बनाउनेहरु रहेकाले उनीहरुलाई सडकमै आउन नपाउने व्यवस्था गर्न जरुरी देखिन्छ । महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानवसेवा आश्रमले लामो समयदेखि अभियान नै चलाएको छ । सडकमा असहाय असक्त निकै कम भए पनि पेशा बनाएर बस्ने धेरै रहेको कोषका सदस्यसचिव डा ढकाल बताउनुहुन्छ । घरायसी झगडा, हिंसालगायत आफैँ बिरक्तिएरसमेत वृद्धवृद्धा सडकमा आइपुगेका छन् । मानसिक सन्तुलन गुमाएका पनि सडकमै पुग्ने गरेका छन् । कतिपयचाहिँ माग्ने पेशा बनाएर सडकमा आएका छन् भने कतिपयलाई माग्न लगाएर पेशा गर्ने पनि छन् ।
आश्रमले मागेरसमेत खान नसक्ने र मानसिक सन्तुलन गुमाएकालाई उद्धार गरी संरक्षण दिँदै आएको छ । “अन्य व्यक्तिलाई राख्न सक्ने अवस्था छैन,” बर्ताैला बताउनुहुन्छ । माग्ने पेशा बनाएकालाई भने सडकबाट निरुत्साहित गर्नुपर्नेमा उहाँको जोड छ । महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामा विभिन्न आश्रममा समन्वय गरेर सडकमा रात बिताउन बाध्य भएकाको उद्धार गरिने बताउनुहुन्छ । रासस