काठमाडौं । ऋणको भारी बोकेर रोजगारीका लागि साउदी पुगेका नेपाली कामदारहरुको सपना साउदीकै एउटा कोठामा आँशुमा बगिरहेको छ।
साउदीको जेएनपी कन्स्ट्रक्सन कम्पनीमा श्रम गर्न पुगेका नेपाली श्रमिक पेटभरी खानसमेत नपाइ दिनरात पसिना बगाउन बाध्य छन्। वैदेशिक रोजगारका लागि साउदीको जेएनपी कम्पनीमा काम गर्न गएका २७ जना नेपाली कामदार ८ महिना देखि अलपत्र परेका हुन्।
केही वर्ष पहिले राम्रो काम र सेवा दिँदै आएको उक्त कम्पनीले हाल नेपाली कामदारलाई काममा लगाउने तर तलब नदिने, श्रमिकलाई दिइने परिचयपत्र ( अकामा ) रिन्यू नगरिदिने र नेपाल आउन समेत टिकट नदिने, खान समेत सुख्खा रोटी र दाल एकछाक पाइने जस्ता समस्या रहेको पीडितले बताएका छन्। विरामी हुँदा पारासिटामोल समेत नपाउने पीडितको गुनासो छ।
साउदीमा लेबर लगायतका काम गर्ने श्रमिकलाई साउदी सरकारले दिने परिचय पत्र (अकामा) को म्याद सकिएपछि रिन्यू नगरेमा सो व्यक्ति अवैधानिक मानिन्छ। अकामा नभएका श्रमिकलाई साउदी सरकारले जतिबेला पनि पक्राउ गरी जेलमा लैजान सक्ने प्रावधान छ। साउदीस्थित साझा मञ्चमा सामाजिक अभियान्ताका रुपमा काम गर्दै आएका नुवाकोटका विपुल ढुंगानाले पीडितहरुसँग प्रत्यक्ष भेटेर कुराकानी गरेका थिए। पीडितहरु ८ महिनादेखि साउदीमा आँशुले भरिएको जीवन बिताउँन बाध्य छन्।
अलपत्र परेका कञ्चनपुरका सञ्जय कुमार चौधरी २८ महिनादेखि साउदीको जेएनपी कम्पनीमा कार्यरत थिए। उनले ८ महिनादेखि तलब पाएका छैनन्। पीडित सञ्जयले भने, ‘हामीसँग अकामा (काम गर्नेलाई दिइने परिचय पत्र) पनि छैन। मेडिकल बन्द गरेको छ, एक्जिट पनि बन्द गरेको छ, आफ्नो पैसा लेउ अनि घर जाउ भन्छ कम्पनीले।’
दुई वर्षदेखि साउदी बस्दै आएका धादिङका आशिष पर्जाले पनि साउदीको जेएनपी कम्पनीमा ८ महिना देखि नै तलब पाएका छैनन्। पर्जा भन्छन्, ‘कम्पनीले तलब पनि दिँदैन, आँफै टिकट काटेर घर जा भन्छ, टिकट काट्ने एक रुपैयाँ पनि छैन कसरी घर जानु?’ उनले भने, ‘नेपाल सरकारले हामीलाई छिटोभन्दा छिटो जसरी पनि जसरी पनि उद्धारको पहल गरे हुन्थ्यो।’
सप्तरीका कमल नरेन्द्रको हालत पनि उस्तै छ। उनले आखाँको आँशु पार्दै आफूसँग अकामा, मेडिकल कार्ड केही नभएको र घरमा फोन गर्न समेत पैसा नभएको बताए। उनले भने, ‘एक रुपैयाँ साथमा छैन, घरमा फोन पनि गरेको छैन।’ बर्दियाका दिलबहादुर खत्री १ लाख ५० हजार ऋण लिएर विदेशीएका थिए। उनले भने, ‘घरमा दुईवटी छोेरी छन्, परिवारको बिचल्ली छ।’
उनले साउदीमा रोजगारका लागि पठाउने म्यानपावर र राजदूतावासले नै वास्ता नगरेको बताएका छन्। राजदूतावासले पीडितको गुनासोलाई ध्यान नदिने बरु मजाक बनाएर उडाउने गरेको पीडितहरुको गुनासो छ। भोजपुरका कुमार खरेल ३ वर्षदेखि जिएनपी कम्पनीमा कार्यरत थिए। कम्पनीले पहिले राम्रो तलब र सेवा सुविधा दिँदै आएपनि ८ महिनादेखि कामदारलाई तलब तथा अन्य सेवा सुविधा नदिएर अलपत्र पारेको उनले बताए। उनी भन्छन्, ‘हामी श्रमिक दाल र खबुज खाएर ८ महिनादेखि बिना तलब काम गर्न बाध्य छौँ। खबुज भनेको त्यहाँको भाषामा सुख्खा रोटी हो।’
खरेलले भने, ‘हामीलाई नेपाल आउन न टिकट दिन्छ न तलब, राजदूतावासले पनि वास्ता गर्दैन। हामीलाई उद्धार गर्नुपर्यो हामी अलपत्र छौँ भन्दा तिमीहरुसँग भर्खर कुरा गरेको भन्दै मजाक सम्झेर फोन कटाउँछ।’ साउदीमा धेरै नेपाली अलपत्र पर्ने र साउदीका लागि नेपाली दूतावासले बेवास्ता गर्ने गरेको अन्य अलपत्र परेका थुप्रै कामदारले समेत बताएका छन्। पीडितहरुले सरकारले जसरी पनि आफूहरुलाई साउदीबाट उद्धारका लागि अपिल गरेका छन्।
श्रम बेचेर पैसा कमाउन विदेशीएका नेपाली कामदार यसरी अलपत्र परेपछि उनीहरुको पीडा सोचिसाध्य छैन। साहुको ऋण लिएर परदेशिएका युवा यसरी बिना तलब, खाना न पानी भएर बस्न बाध्य छन्। वैदेशिक रोजगारीमा गएका युवाहरुको गुनासो सुनुवाइका लागि राखिएका कुटनीतिक नियोगले अलपत्र परेका युवालाई तत्काल उद्धार गर्न पहल गर्न नसक्दा धेरै नेपाली कामदार डिप्रेशनको सिकार बन्ने समस्या रहेको छ।
कतिपय कामदार पीडा सहन नसकेर साउदीमै आत्महत्या गर्न समेत बाध्य छन्। साउदीको जेएनपी कम्पनीमा भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म का नेपाली कामदार रहेका छन्। परदेशी भूमिमा अलपत्र परेका कामदारको तत्काल उद्धारमा सरकार तथा सम्पूर्ण सरोकारवालाले विशेष जिम्वेवारीपूर्वक काम गर्नुपर्ने सामाजिक अभियान्ता विपुल ढुंगानाको भनाइ छ।
भिडियाे