२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

ओमनको राजधानी मस्कटमा सिटि बस हाक्ने नेपाली चालकहरु

1498 Shares

विनेश खनाल, मस्कट, ओमन। म आफ्नो काम विशेषले मावेला शहरबाट रुविको लागि म्वासलात कम्पनीको सिटि बस चढेर जांदै थिएँ। सोही बसमा सिटि सेन्टर सपिङ्ग महल नजिकैको स्टेशनबाट १ नेपाली युवती पनि चढिन्। टिकट माग्दै ति युवतीले सोध्दै थिइन् अजैवा सम्मको भाडा कति हो शोल्टि भनेर। ति शोल्टी अर्थात बस कुंदाईरहेका ड्राइभरले ३०० बैसा हो भन्दै पैसा लिएर उनलाई टिकट दिए। सायद युवतिले पहिला बसमा आवातजावत गर्ने क्रममा चिनेकी रहिछन्।

मलाई थाहा त थियो नेपालीहरु पनि म्वासलात कम्पनीमा सिटि बसका चालकहरु छन् भनेर। तर कसैसँग चिनजान भने भएको थिएन। शुरुमा हाउ मच भन्दै अङ्ग्रेजीमा संवाद गरेर टिकट लिंदै बस चढेको मलाई ति ड्राइभर नेपाली रहेछन् भन्ने थाहा भयो। म उनलाई आफ्नो परिचय दिंदै कुरा गर्न थालें। उनि रहेछन् मंगलपुर १६ चितवनका रमेश बोगटी। हामीबीच धेरै कुराकानी भयो। बोगटीले आज हाम्रो क्याम्प तिर बस्न जाउँ भनेर अनुरोध गरे। म पनि साँझ उनैको क्याम्प तिर गए।

म्वासलात ओमनको सरकारी यातायात कम्पनी हो। यो कम्पनीमा २०१६ को मार्च तिर काठमाडौको एलाईन्स ह्युमन रिसर्च मेनपावर मार्फत ३५ जना नेपाली युवाहरु सिटि बस चलाउन ड्राईभरको रूपमा आएका रहेछन्। ३५ जना सबै पहिला खाडीका अन्य मुलुकहरुमा ड्राइभरको अनुभव बटुलेका रहेछन्। प्राय सबै जनासँग खाडिका अन्य देसमा हेवि गाडी चलाएका लाईसेन्सहरु थिए। नेपाल तथा अन्य खाडी मुलुकमा ड्राईभरको काम गरिसकेको हुनाले यहाँ उनिहरुलाई कुनै समस्या परेन।

 

 

फ्री भिसा फ्री टिकट अन्तर्गत नेपालबाट अन्तर्वार्ता पास गरेर छनोटमा परेका उनीहरु सबैलाई काठमाडौँमै सम्झौता भए अनुसारको नै तलब मिलेको रहेछ। पारिश्रमिक कति पाउनुहुन्छ रु भन्ने प्रश्ननमा, ‘काम धेरै चल्यो र ओभर टाईम गर्न सकियो भने मासिक करिब ८० हजार देखी १ लाख सम्म हुन्छ।’ पोखराका मुक्तिराम सुवेदीले बताए। मुक्तिराम यो भन्दा अगाडि कतारमा ड्राइभिङ गर्थे।

सुरुमा ३५ जना आएको भएपनि अहिले भने जम्मा १८ जना मात्रै छन्। केहि जना मुलुकमा कुनै आफ्नै पेशा गर्ने योजनाका साथ क्यान्सिल गरेर फर्केका रहेछन्। त्यस्तै विदामा गएका १ जनाको भने धादिङ बस दुर्घटनामा परि मृत्यु भएको रहेछ। अहिले यहाँ भएकाहरुको आ–आफ्नो सपना छ। करिव ३ वर्ष कतारमा ट्याक्सी चलाएका झापा स्थायी घर भई हाल काठमाडौमा बस्ने कुमार थापाको काठमाडौमै आफ्नै घर ठड्याउने ठुलो धोका छ। वैदेशिक रोजगागिबाट नै घरको लागी जग्गा किनेका रहेछन् उनले। ‘अब घर बनाउने ईच्छा छ तर खाडिमा कमाएको पैसाले घर बनाउन गाह्रो पर्दोरहेछ’। नेपालको महङ्गी सम्झदैँ उनले गुनासो पोखे। कुमार पहिला काठमाडौ उपत्यका भित्रै बस चलाउने गर्थे। चौधरी ग्रुपमा पनि केहि वर्ष ड्राईभरको रूपमा काम गरेका रहेछन। पछि कतारमा १ जनाले ट्याक्सी चलाकको रूपमा आउन प्रस्ताव गरेछन्। त्यहीसँगै उनको वैदेशिक यात्रा शुरु भएको रहेछ।

केहि वर्ष साउदीमा गाडी चलाएका मंगलपुर चितवनका रमेश बोगटीले पनि नेपालमा गाडी लाईनमै काम गरेको बताए। विदेशमा यो क्षेत्रमा अल्लि धेरै कमाई हुने सुनेर विदेश हिंडेका रहेछन्। विदेशमा पनि सन्तोषजनक कमाई भैइरहेको बताए। अझै केहि वर्ष काम गरेर नेपालमै स्थापित हुने उनको योजना छ। नेपाल रहँदा अरुको गाडी चलाएका अन्य केहि युवाहरुको भने अब मुलुक फर्केपछि आफ्नै गाडी किनेर कुदाउने सोच छ।

त्यस्तै वालिङ नगरपालिका स्याङ्जाका विक्रम राना मगर विदेशमा गाडी चलाउन त्यती गाह्रो नभएको बताउँछन्। ‘नेपालको बाटोमा गाडी हाकेकालाई यहाँका बाटोमा गाडी चलाउन सजिलो छ। ट्राफिक नियममा भने धेरै ध्यान पुर्याउन पर्छू उनले भने। मुलुकमा रहँदा विभिन्न गाडि चलाएका उनले नेपालमा गाडी चालक लाई धेरै दवाब हुने अनुभव सुनाए। विक्रमले बताए अनुसार साहुको कचकच, बिग्रेको बेला आफैले मर्मत गर्न पर्ने, बाटोमा ग्यारेजहरु नहुने, गाडी सफा पनि आफैले गर्न पर्ने, काम अनुसारको तलब नमिल्ने, छुटी माग्दा साहुले छुट्टी नदिने, गाडी चालकलाई नराम्रो व्यवहार गर्ने जस्ता समस्याहरु गाडी चालकहरुले नेपालमा खेप्नु पर्दोरहेछ। नेपालमा चालकलाई अल्लि फरक दृस्टीकोणले हेरिन्छ, काम कुनै ठुलो सानो हुँदैन। त्यसैले कामको उचित सम्मान हुनुपर्ने उनको भनाई छ। उनिहरु सबै जनालाई बस्नको लागि कम्पनीले अजैवाको जुवेर बृज नजिकै होस्टेलको व्यवस्था गरिदिएको छ।

 

प्रतिक्रिया