२०८१, २२ भाद्र शनिबार
×

ट्रेन्डिङ

नेपाली ध्वजावाहकको विश्वभर उडान, अमेरिकाबाहेकका सबै देशमा उडान

3289 Shares

काठमाडौं। नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ ।नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको बताए । उनले संसद्को विशेष समयमा शुक्रबार भने, ‘जापानसँगको सम्झौतापछि पर्यटकलाई सहजसमेत हुने भएको छ ।’

सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछ । यसअघि २ मात्र उडान हुने व्यवस्था थियो । अब नेपाली एयरलाइन्सले ‘फिफ्थ अफ फ्लाइट’ पनि पाउनेछन् । जसअनुसार नेपालले जापानको एयरपोर्ट प्रयोग गरेर अमेरिकाबाहेकका मुलुकमा सिधा उडान भर्न पाउने गरी सहमति भएको उनले जानकारी गराए ।

यसअघि नेपाल र जापानबीच ६ फागुन २०४९ सालमा नेपाल–जापान हवाई उडानसम्बन्धी सम्झौता भएको थियो । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामहरि जोशी र तत्कालीन नेपालका लागि जापानी राजदूत चुइची इटोबीच हवाई उडानसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौताअनुसार नेपाललले ओसाकास्थित कोनसाई अन्तर्राष्ट्रिय विमानस्थलबाट २०५० साल असोजबाट नेपाल वायुसेवा निगमको ध्वजावाहकबाट सातामा दुईपटक उडान गर्दै आएको थियो ।

यसैगरी, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित भएको भन्दै कालोसूचीबाट हटाएको छ । सन् २०१३ बाट नेपाली आकाश हवाई उडानका लागि सुरक्षित नभएको भन्दै कालोसूचीमा राखेको आइकाओले जोखिमको सूचीबाट गत साता हटाएको हो । नेपालको उडान सुरक्षामा प्रगति भएको भन्दै आइकाओले यस वर्षको प्रेसिडेन्ट अवार्डसमेत नेपाललाई प्रदान गरेको मन्त्री अधिकारीले सदनमा जानकारी गराए ।

उनले युरोपियन युनियनले सन् २००९ बाट नेपालको हवाई सुरक्षाको विषयमा प्रश्न उठाउँदै कालोसूचीमा राखेको छ । नेपालले आइकाओको अवार्ड प्राप्त गरेपछि युरोपियन युनियनमा समेत कालोसूचीबाट हटाउन पत्राचार गरिएको मन्त्री अधिकारीले जानकारी दिए ।

युरोपियन युनियनले नेपालको पत्रको जवाफ दिँदै आगामी सेप्टेम्बरमा नेपाली आकाश हवाई उडानका लागि सुरक्षित भए नभएको अध्ययन गर्ने जनाएको छ । ‘विश्वभरका हवाई उड्डयन संस्थाहरूको साझा संगठनले सुरक्षित भएको भन्दै अवार्ड दिइसकेको अवस्थामा युरोपियन युनियनले पनि कालोसूचीमा हटाउनेछ,’ मन्त्री अधिकारीले भने, ‘कालोसूचीबाट हटेसँगै युरोपमा पनि नेपालले सीधा उडान गर्नेछ ।’ यसैगरी, नेपाल वायु सेवा निगमले आगामी ६ महिनाभित्र ६ वटा टुइनेटर विमान र निजी क्षेत्रका एयरलाइन्सले चारवटा जति जहाज ल्याउने उनले जानकारी गराए ।

नेपालगन्जबाट सिधै दिल्ली

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अबको चार महिनाभित्र नेपागन्जबाट भारतको नयाँ दिल्लीमा सीधा उडान हुने बताएका छन् । उनले नेपालमा एक मात्रै हवाई रुट भएकोमा अब वीरगन्जसहित महेन्द्रनगर, नेपालगन्ज, जनकपुर, विराटनगर र मेचीबाट पनि हवाई रुट पाइएको जानकारी दिए ।

शुक्रबार सदनमा सांसदहरूसँग प्रश्नोत्तरको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले भारतले हवाई रुट दिने सहमति जनाएसँगै ढिलोमा चार महिनाभित्र नेपालगन्जदेखि दिल्लीसम्मको सीधा उडान सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।

अघिल्लो साता मात्रै भारतले नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरबाट न्यून उचाइमा उड्ने जहाजका लागि हवाई प्रवेश बिन्दु उपलब्ध गराउन सहमत भएको थियो । विगत लामो समयदेखि प्राविधिक तहमा छलफल नहुँदा नेपालले माग गरेका रुट पाउन नसकेको तर सरकारको पहलमा बैठक बसेर सहमति भएको उनले बताए ।

‘हामीलाई आवश्यक रुट दिन भारत सहमत छ, पहिलो चरणमा सीमापार उडानका लागि आवश्यक रुट उपलब्ध हुनेछन् भने दोस्रो चरणमा धेरै उचाइमा उड्ने जहाजका लागि आवश्यक रुट उपलब्ध हुनेछन्,’ उनले थपे, ‘यसबाट हवाई सम्पर्कमा वृद्धि हुनेछ ।’ अबको ३ महिनाभित्र नेपालगन्ज विमानस्थलमा क्वारेन्टाइन र अध्यागमनका लागि आवश्यक पूर्वाधार निर्माण गरिसक्ने उनले बताए । नेपालगन्जबाट उडानका लागि बुद्ध एयरलाई स्वीकृतिको प्रक्रिया शुक्रबार नै अघि बढाइएको सदनलाई जानकारी गराए ।

त्यस्तै, भारतसँग पटक–पटक छलफल भएकोमा पछिल्लो समयमा केही सहमति भएको थियो । पुस २०७२ मा प्राविधिक रूपमा छलफल गर्ने सहमति गरेको थियो । २ जेठ २०७५ मा भएको सहमतिअनुसार महेन्द्रनगर र नेपालगन्जबाट सेप्टेम्बरपछि धेरै उचाइमा उड्ने विमानले समेत हवाई रुट पाउने भन्दै उनले अहिले जनकपुर र विराटनगरबाट हवाई रुट प्राप्त भइसकेको जानकारी गराए । उनका अनुसार हाल उत्तरमा लुनिन, मेचिनगर (भुटानका लागि मात्रै) र वीरगन्जबाट मात्रै आउने गरेको थियो । ९० प्रतिशत वीरगन्जबाट मात्रै नेपालमा उडान हुने गरेकोमा नेपालगन्ज र महेन्द्रनगर हवाई रुटबाट भने बाहिर जाने विमानले मात्रै रुट पाएका थिए ।
‘पोखरा विमानस्थलको काम रोकिँदैन’

मन्त्री अधिकारीले पोखरा विमानस्थलको काम नरोकिने बताएका छन् । अहिलेसम्म १२ प्रतिशतभन्दा धेरै काम भइसकेको र तोकिएकै मितिमा सम्पन्न भएर सञ्चालन हुने उनको भनाइ छ । विज्ञ समूहले दिएको प्रतिवदेनमा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री अधिकारीले छलफलमा कुनै व्यक्ति विशेषले राखेको धारणालाई बढाइचढाइ गरिएको दाबी गरे । ‘पोखरा विमानस्थलमा मध्यम खालका विमानले मात्र उड्न सक्ने पहिले नै निर्धारित भएको विषयलाई अहिले फेरि विमानस्थल नै बन्न सक्दैन भन्ने कुरा आएको छ, यो भ्रममा कोही पनि पर्नुपर्दैन,’ उनले भने, ‘विज्ञ समूहको छलफलमा कुनै व्यक्तिले राखेको विषय हो, त्यो प्रतिवेदनमा आएको विषय होइन । समूहले त्यस्तो रिपोर्ट दिएको होइन, विमानस्थलका केही विशेषता मात्र हुन् ।’

सरकारले अबदेखि विमानस्थल बनाउँदा त्यसको सम्भाव्यता र नीति बनाएर मात्र निर्णय गर्ने मन्त्री अधिकारीले जानकारी दिए । विमानस्थल नेपालमा कति चाहिने, कति नचाहिने, कति आवश्यक हो भनेर राष्ट्रिय विमानस्थल योजनाको तयारी भइरहेको उनले जानकारी दिए । निर्माणको प्रक्रियामा गइसकेकालाई भने द्रुत गतिमा अगाडि बढाउने उनको भनाइ छ । दुर्गम क्षेत्रमा हवाई भाडा बढेको भन्ने सांसदहरूको चासोमा मन्त्री अधिकारीले २०७१ सालमा सरकारले सिफारिस गरेको भाडादर मात्र कार्यान्वयन गरेको बताए । यसअघि भाडा बढाए पनि लागू नहुँदा एयरलाइन्सहरूले नियमित उडान गर्न छाडेर चार्टरमा मात्र ध्यान दिएको र अब भाडा बढाएर उडान नियमित बनाएको उनको भनाइ छ । राजधानी दैनिक

प्रतिक्रिया