२०८१, १८ बैशाख मंगलवार
×

ट्रेन्डिङ

राहदानी बनाउन पोर्चुगलबाट ६ सय ६९ को आवेदन संकलन

0 Shares

भरत प्रधान, लिस्बन। पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय बढी नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ ।

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो । टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले रासलाई जानकारी दिनुभयो ।

टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ राहदानी र ३५ बालबालिकाको नवीकरणका लागि आवेदन सङ्कलन गरिएको हो । राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट एक लाख १६ हजार पाँच सय २० युरो अर्थात् झण्डै एक करोड ६६ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको टोली प्रमुख बस्नेतले बताउनुभयो ।

शिविरमा अतिरिक्त शुल्क लिएर आवेदन सङ्कलन गरेको भन्ने सेवाग्राहीको गुनासोका सन्दर्भमा दूतावासकी नियोग उपप्रमुख बस्नेतले टोलीले राहदानी बनाउन लाग्ने सरकारले तोकेको न्यूनतम राजस्व शुल्क र कुरिएर खर्चबापतको १० युरोबाहेक अन्य रकम नलिएको स्पष्ट पार्नुभयो । अतिरिक्त शुल्क लिएको भन्दै अफवाह फैलाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बस्नेतले सो विषयमा लिस्बनस्थित महावाणिज्य दूतावास, एनआएनए पोर्चुगललगायत शिविर अवधिभर खटिएका नेपाली सङ्घ–संस्थाका प्रतिनिधिसँग सोधखोज गर्न र सत्यतथ्य बुझ्न सबैलाई आग्रह गर्नुभयो । दूतावासबाट टोली आएको भएपनि शिविर अवधिभरको सबै खर्च लिस्बनस्थित महावाणिज्यदूतावासले ब्यबस्थापन गरेको उहाँले बताउनुभयो ।

टोलीले शिविर अवधिभर राहदानीबिहीन बनेका, राहदानी हराएका, क्षति भएका र राहदानीकै कारण समस्यामा परेका नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको उहाँले बताउनुभयो । “पोर्चुगलमा रहेका नेपालीको समस्यालाई ध्यानमा राखेर विशेष गरी यहाँको कागजी प्रक्रियामा रहेका नेपालीलाई सेवा प्रदान गर्ने उद्देश्यअनुरूप दूतावासले शिविरको व्यवस्था गरेको हो”, बस्नेतले भन्नुभयो, “यहाँ अझै धेरै नेपालीको राहदानी बनाउनुपर्ने देखिन्छ । राहदानी बनाउन नपाएको भन्दै धेरै नेपालीले गुनासो गर्नुभएको छ । उहाँहरुको गुनासो स्वभाविक छ । दूतावाससँग कर्मचारीको अभाव भएका कारण लामो समयसम्म शिविर सञ्चालन गर्न सम्भव भएन । यहाँ देखिएको राहदानीसम्बन्धी समस्याको समाधानका लागि विभागबाटै टोलीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

शिविर गत मार्च २४ तारिखदेखि सुरु भएको हो । मङ्गलबार बिहानसम्म थप आवेदन सङ्कलन गरिएको थियो । टोलीले राहदानी हराएका, क्षति भएका, सन् २०२४ फ्रेब्रुअरी २९ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको थियो ।

घुम्ती शिविरले तत्कालका लागि राहत भए पनि अझै धेरै नेपाली राहदानीसम्बन्धी समस्यामा रहेकाले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताउनुभयो । “शिविरमा अतिरिक्त शुल्क लिएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् नि भन्ने जिज्ञासामा खड्काले महावाणिज्यदूतावास सहित पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाको सर्वपक्षीय छलफल र निर्णयबाटै १५ युरो अतिरक्ति शुल्क लिईएको प्रष्ट पार्नुभयो ।, जसमा १० युरो शिविर ब्यबस्थापन खर्च र ५ युरो विपद् ब्यवस्थापन कोषका लागि लिईएको हो । यो कसैको ब्यक्तिगत खर्च र लाभका लागि लिईएको रकम होईन । यो शव ब्यबस्थापन लगायत आपद्–विपद् पर्दाका लागि निर्माण गरिएको कोषका लागि लिईएको हो,– खड्काले स्पष्ट पार्दै भन्नुभयो ।”

शिविरबाट राहदानीविहीन बनेका र राहदानीकै कारण समस्यामा परेका नेपालीलाई राहत मिलेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताउनुभयो । शिविरले विशेषतः यहाँको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका र हराएका नेपालीलाई राहत मिलेको उहाँले बताउनुभयो । शिविर अवधि छोटो भएका कारण धेरै नेपालीको समस्या सम्बोधन गर्न नसकिएको उल्लेख गर्दै महावाणिज्यदूत हमालले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने बताउनुभयो । अतिरिक्त शुल्कका सम्बन्धमा प्रष्ट्याउँदै हमालले सबै संघ–संस्थाको उपस्थितीमा भएको निर्णय बमोजिम १० युरो शिविर ब्यबस्थापन खर्च र ५ युरो विपद् कोषका लागि लिईएको बताउनुभयो । शिविर ब्यबस्थापनका लागि लिईएको रकम मध्ये खर्च कटाएर बाँकी रहेको रकम विपद् कोषमा जम्मा गरिने उहाँले स्पष्ट पार्नुभयो ।

पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीसम्बन्धी समस्या झेल्दै आएका नेपालीले शिविरमार्फत सेवा पाउँदा राहतको अनुभूति गरेका छन् । एक सातासम्म सञ्चालन भएको शिविरमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका प्रतिनिधि र यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाका प्रतिनिधिले समेत समन्वय र सहजीकरण गरेका थिए ।

प्रतिक्रिया