२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

सबै पक्ष जवाफदेही भए तीव्र आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

4691 Shares
Spread the love

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला सबै पक्षले जवाफदेही भएर काम गरे मुलुकको आर्थिक विकास तीव्र गतिमा हुने बताउनुभएको छ ।

संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समय नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तिव्रगतिमा अगाडि बढ्ने सम्भावना रहेको बताउनुभएको हो ।

मन्त्री शर्माले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा विविध समस्या देखिएता पनि उद्योगधन्दा खुल्नेक्रम बढेको दाबी गर्नुभयो ।

उहाँले नयाँ उद्योगमा लगानी गर्ने चाहाना बढ्दा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा २६ हजार भन्दा बढी नयाँ कम्पनी दर्ता भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले मुलुकको आर्थिक स्थितिमा समस्या आएको बताउनुभयो ।

कोभिड–१९ को प्रभाव, बेमौसमी वर्षा र पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै परेको समस्या शक्ति राष्ट्र रुस र युक्रेनबीचको बढ्दो द्वन्द्वको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको उहाँको भनाइ छ ।

मन्त्री शर्माले विभिन्न समस्याका बाबजुद पनि चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनेमा खुशी मान्नुपर्ने तर्क गर्नुभयो ।

७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिए पनि विविध समस्याले गर्दा लक्ष्य भेट्ने स्थिति नरहेको भन्दै मन्त्री शर्माले सामूहिक सहकार्यका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया