
कार्तिक ३ नेपालमा वडा दशैँ मनाए जस्तै भारतमा यस पावन अवसरमा दशैँलाई दशहराको रुपमा मनाउँने गर्छन् ।सो अवसरमा भारतमा हिन्दुहरुले ठुलो मेला आयोजना गर्दे असत्यमाथि सत्यको बिजयको प्रतिकको रुपमा रावण दहन गर्ने गर्छन् । यही रावण दहनको बेला हिजो भारतमा भयानक रेल दुर्घटना भएको छ ।
पञ्जावमा भएको मेला रेलको लिक छेउछाउमा मानिसहरुले हेरिरहेका थिए तर अवलोकनकर्ताहरुले ध्यान नदिँदा गुडिरहेको रेलको ठक्कर दिँदा ७० भन्दा बढिको ज्यान गयो । रेलले उनीहरुलाई चिर्दे अगाडी बढेको थियो । तर उक्त भिडमा यस्ता व्यक्ति पनि थिए जसले अरुको ज्यान बचाएर आफनो जीवन बलिदान गरे ।
उनी अरु कोही नभएर मेलामा रावणको भुमिका निर्वाह गरेका दलबीर सिंह । रावणको भुमिकामा काम गरेका उनले सोचेका पनि थिएनन् होला की त्यही मेलाले उनको ज्यान लिन्छ भनेर । रावणवध कार्यक्रम सकेर आफ्नो ८ महिनाका छोरा भेट्नका लागि उनी घरतर्फ जाँदै थिए । त्यतिबेला रेलको लिक छेउछाउमा दर्शकहरुको भीड थियो । जब उनी घरतर्फ केही पाइला सार्दै थिए त्यतिनै बेला उनले रेलको आवाज सुने ।
लगत्तै उनी रेलको लिकमा रहेका मानिसहरुलाई हटाउन लागिपरे । उनको अग्रसरताले कयौंले ज्यान बचाउन सफल भए । तर बिडम्बना उनी आफैं भने रेलले किचिएर मृत्युवरण गर्न पुगे । ३२ बर्षीय दलबीर दशहराको दिन जब दुर्घटना हुन पुग्यो त्यसबेला उनी रामलीलाबाट निस्केर रेलको लिक नजिकैबाट घरतर्फ जाँदै थिए ।
त्यतिनै बेला उनले जालन्धरतर्फबाट तीब्रगतिको रेल देखे र दौडदै लिक आसपासका सर्वसाधारणलाई हटाउन लागिपरे । उनले दिएको सन्देशबाट कति हटे कतिको उनले ज्यान बचाए तर उनी नै रेलको चपेटामा परे । घटनापछि उनकी आमा भन्छिन् “मेरो छोरा दलबीरले निकै बहादुरीको काम गरेको छ” ।
भर्खरकी कलकलाउँदी श्रीमतीछिन् , ८ महिनाको सन्तान र बिधुवा आमालाई दलबीरले चटक्कै छोडेर गए । मृत्युपछि दलबीरका आश्रित परिवारले श्रीमतीलाई सरकारी जागिरको प्रवन्ध गरिदिन र दुर्घटनामा दोषीलाई कारबाही गर्न माग गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोही स्थानमा दलबीरको बुवाले समेत १० बर्ष अगाडी ज्यान गुमाएका थिए ।