
धनगढी । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने निर्णय दुई तिहाईबाट पारित भएको छ।
शुक्रवार दोस्रो पटक बसेको प्रदेश सभा बैठकले प्रतिपक्ष नेपाली काँग्रेस र राजपाको बहिष्कारकाबीच दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ को तेघरीमा राख्ने निर्णय गरेको हो।
प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी राख्न प्रतिवेदन सिफारिस गरेको थियो।
समितिका संयोजक तारालामा तामाङले पेस गरेको प्रतिवेदन विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले असहमति जनाएका थिए। सत्तापक्ष र प्रतिपक्षविच नाम र राजधानीका बारेमा सहमति नभएपछि मतदान प्रक्रिया भयो जसमा सत्ता पक्षका ३८ जना सांसदले मतदान गरेका थिए भने १४ जना विपक्षीदलका सांसदले बहिस्कार गरेका थिए।
७ नं मा ५३ जना सांसद छन् । दुई तिहाई बहुमतका लागि ३६ जनाले पक्षमा मतदान गर्नुपर्ने थियो। सोमबार दिउँसो ३ बजे बसेको बैठकले मतदान प्रक्रियाबाट नाम र राजधानी तोकेको हो।