काठमाडौं। ठूलो विपदपछि मानवीय राहत र उद्धार कार्यमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको विपद् व्यवस्थापन अभ्यास र अनुभव आदान प्रदानसम्बन्धि अन्तर्राष्ट्रिय तालिम मंगलबारदेखि काठमाठौंमा सुरु भएको छ।
नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सो तालिम आयोजना गरिएको हो। नेपालसहित १४ मुलुकका सैनिक तथा विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत प्रतिनिधिहरुको सहभागिता रहेको तालिमलाई उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले विपद परेका बेला मानवीय सेवा गर्नका लागि आवश्यक छलफल गर्न सो अभ्यास तालिमको आयोजना गरिएको बताए।
उनले सो तालिमले विपद व्यवस्थापनका लागि आवश्यक जनशक्ति, स्रोत तथा साधन परिचालन कार्यक्रमलाई प्रभावकारी बनाउन सहज बनाउने विश्वास व्यक्त गरे। ४ दिनसम्म चल्ने तालिममा नेपाल, अमेरिका, भारत, चीन, क्यानडा, फिलिपिन्स, बंगलादेश, बेलायत, डेनमार्क, बेल्जियमलगायतका देशका सेनाहरुको उपस्थिति रहेको छ।
तालिममा नेपालको कर्णाली प्रदेशस्थित दैलेखमा विनाशकारी भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध, पुलहरु भत्केको र सुर्खेत विमानस्थलको केही भागमा क्षति भएको अनुमान गरि त्यस्तो अवस्थामा खोज, उद्धार र राहत कार्यक्रमबारे व्यवहारिक अभ्यास गरिने नेपाली सेनाले जनाएको छ।
काठमाडौंको विभिन्न स्थानमा हुने सो अभ्यास तालिममा ६४ जना विदेशी तथा नेपाली सेना, सशष्त्र प्रहरी, नेपाल प्रहरी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नेपाल रेडक्रमलगायत मानवीय उद्दार कार्यमा संलग्न संस्थाहरु सहभागी हुनेछन्। नेपाल प्राकृतिक विपत्तिको जोखिममा पर्ने मुलुक भएकाले पनि सो अभ्यास तालिम नेपालमै आयोजना गरिएको हो।