२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

मलेसियामा मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो, अनुसन्धान नसकी शव ल्याउन नमिल्ने

1132 Shares
Spread the love

काठमाडौं – मलेसियामा विषाक्त रक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो ।

सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको मलेसियाका लागि कार्यबहाक नेपाली राजदूत कुमारराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

मलेसियाको स्थानीय समयअनुसार दिउँसोको दुई बजेसम्ममा मृत्यु हुनेको संख्या ३६ पुगेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । सेलेङगरमा २४, क्वालालाम्पुरमा ९, पेरकमा ३ जनाको ज्यान गएको हो ।

तीन जनाको शव अब नेपाल ल्याउन सकिने

मृत्यु हुने मध्येमा तीन जनाको शव नेपाल ल्याउन सकिने नेपाली दूतावास मलेसियाले जनाएको छ । अनुसन्धान सकिएकाले सर्लाहीका आइतसिंह गोले लगायत तीन जनाको शव नेपाल पठाउन सकिने मलेसियन प्रहरीले जानकारी दिएको कार्यबहाक राजदूत खरेलले बताउनुभयो ।

तर शव नेपाल पठाउनका लागि आफन्तबाट मन्जुरी पत्र आउनु पर्ने उहाँले जानकारी दिनुभयो । ज्यान गुमाउने कसैका परिवारले पनि शव झिकाउन अहिलेसम्म मन्जुरी पत्र दिएका छैनन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पनि अलिहेसम्म मृतकका परिवारले शव झिकाउन अनुरोध नगरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

रक्सीका कारण मृत्यु भएकाले प्रहरी अनुसन्धान नसक्किएसम्म र प्रहरीले अनुमति नदिएसम्म शव नेपाल झिकाउन मिल्दैन ।

रक्सी बेचेको आरोपमा १० जना पक्राउ

प्रहरीले विषाक्त रक्सी बेचेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । एक हजार २१ बोतल रक्सी र १६ सय ९५ वटा क्यान बियर पनि जफत गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुुसार सेलेङगर प्रहरीले घटनापछि १३ ठाउँमा छापा मारेर झण्डै ३ हजार बोतल रक्सीको नमुना संकलन गरिएको छ ।

प्रतिक्रिया