२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

विदेशबाट फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने

1740 Shares

काठमाडौँ । विदेशबाट फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा विदेशमा दुःख पाएका नेपालीलाई सरकारले शुक्रबारदेखि स्वदेश फर्काउने निर्णय गरेको छ । जसअनुसार शुक्रबार युएई र म्यान्मामा समस्यामा परेका नेपालीलाई फर्काउन लागिएको छ ।

सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने आवागमनस्थल (नाका) तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा ‘होल्डिङ सेन्टर’ मा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिमकार्ड उपलब्ध गराउने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि टेलिकमले एक लाख सिमकार्डको व्यवस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् । सिम प्राप्त गर्न नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ ।

कम्पनीेले उपलब्ध गराउने सिमकार्डको माध्यमबाट प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपछि उनीहरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुने टेलिकमले विश्वास गरेको छ । सरकारले काठमाडौँ उपत्यकामा व्यवस्था गर्ने आठ होल्डिङ सेन्टरमा टेलिकमले निःशुल्क वाइफाइ सेवासमेत उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया